सेप्टेम्बरमा विदेशी पर्यटक आगमन १२ प्रतिशतले बढ्यो

बिहीबार, १५ आश्विन २०८३, बेलुका ७:४८


काठमाडौं । सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको सोही महिनाको तुलनामा यस वर्ष पर्यटक आगमन बढेको हो।

गत वर्षको सेप्टेम्बरमा ७८ हजार ७११ विदेशी पर्यटक नेपाल आएका थिए। यस आधारमा यस वर्ष सेप्टेम्बरमा पर्यटक आगमन ९ हजार ५३७ ले बढेको छ। यो वृद्धि करिब १२.१ प्रतिशत हो।

पर्यटन बोर्डका अनुसार सेप्टेम्बरमा नेपाल आउने विदेशी पर्यटकमध्ये दक्षिण एसियाली मुलुकबाट मात्रै ३० हजार ८५ जना आएका छन्। दक्षिण एसियाबाट आउने पर्यटकमा भारत सबैभन्दा अगाडि रहेको छ।

सेप्टेम्बरमा भारतबाट १७ हजार ४२५ पर्यटक नेपाल आएका छन्। त्यस्तै श्रीलङ्काबाट ७ हजार १०८, बङ्गलादेशबाट ३ हजार ९६४, भुटानबाट १ हजार १११, पाकिस्तानबाट ४२९, माल्दिभ्सबाट ४८ र अफगानिस्तानबाट ८ पर्यटक नेपाल आएका छन्।

दक्षिण एसियापछि अन्य एसियाली मुलुकबाट पनि उल्लेख्य पर्यटक नेपाल आएका छन्। यस समूहबाट सेप्टेम्बरमा १९ हजार ८८८ पर्यटक नेपाल भित्रिएका छन्। तीमध्ये चीनबाट ११ हजार २१२, जापानबाट २ हजार ६६, दक्षिण कोरियाबाट १ हजार ४१२, थाइल्याण्डबाट ६०१ र भियतनामबाट ६३७ पर्यटक आएका छन्।

क्षेत्रगत रूपमा हेर्दा युरोपबाट १५ हजार १४८, अमेरिकाबाट १० हजार १०७, ओसियाना क्षेत्रबाट ५ हजार ४२२, मध्यपूर्वबाट २ हजार ६०६ र अफ्रिकाबाट ४ हजार ५६८ पर्यटक नेपाल आएका छन्।

पर्यटक आगमनमा वार्षिक वृद्धि देखिए पनि सेप्टेम्बरमा अपेक्षाअनुसार पर्यटक आउन नसकेको पर्यटन बोर्डले जनाएको छ। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण पर्यटकीय आवागमनमा समेत असर परेको बोर्डको भनाइ छ।

विशेषगरी बाढी तथा त्यसबाट प्रभावित सडक तथा यातायात पूर्वाधारका कारण पर्यटकको आवागमन प्रभावित भएको बताइएको छ। यद्यपि, समग्र तथ्यांकले नेपालमा विदेशी पर्यटक आगमन गत वर्षको तुलनामा बढिरहेको देखाएको छ।

प्रतिक्रिया 0