नेपालको अर्थतन्त्र सुधारोन्मुख : आईएमएफ

सोमबार, १ असार २०८३ ०७:३१ बेलुका
Font Size: 20px

अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) ले नेपालको विस्तारित कर्जा सुविधा (ECF) अन्तर्गतको सातौँ तथा अन्तिम समीक्षा सम्पन्न गर्दै नेपालको अर्थतन्त्रमा स्थायित्व कायम राख्न तथा सुधार कार्यक्रम कार्यान्वयनमा उल्लेख्य प्रगति भएको निष्कर्ष निकालेको छ। समीक्षा सम्पन्न भएसँगै नेपालले करिब ४२.९ मिलियन अमेरिकी डलर (एसडीआर ३१.३२ मिलियन) प्राप्त गर्ने भएको छ। सन् २०२२ देखि सञ्चालनमा रहेको कार्यक्रमअन्तर्गत नेपालले कुल ३८४.१ मिलियन अमेरिकी डलर बराबरको सहायता प्राप्त गरेको छ।

आईएमएफका अनुसार सन् २०२५/२६ मा नेपालमा आर्थिक वृद्धि ३ प्रतिशतमा सीमित रहने अनुमान गरिएको छ। राजनीतिक अस्थिरता, कृषि उत्पादनमा कमी, निजी लगानीको सुस्तता तथा मध्यपूर्व युद्धको प्रभावले आर्थिक गतिविधि प्रभावित भएको उल्लेख गरिएको छ। यद्यपि निर्वाचनपछि बनेको एकल बहुमतको सरकारले नीतिगत स्थिरता ल्याउने तथा आगामी वर्ष आर्थिक गतिविधि सुधार हुने अपेक्षा गरिएको छ।

प्रतिवेदनले नेपालको बाह्य क्षेत्रलाई बलियो अवस्थामै रहेको जनाएको छ। रेमिट्यान्स, पर्यटन र निर्यात वृद्धिका कारण चालु खाता बचतमा रहेको तथा विदेशी मुद्रा सञ्चिति करिब १२ महिनाभन्दा बढी आयात धान्न सक्ने स्तरमा पुगेको उल्लेख गरिएको छ। आर्थिक वर्ष २०२५/२६ मा रेमिट्यान्स १५.२ अर्ब अमेरिकी डलर पुग्ने र विदेशी मुद्रा सञ्चिति २१.८ अर्ब डलर नाघ्ने अनुमान गरिएको छ।

तर बैंकिङ क्षेत्रप्रति आईएमएफले विशेष चिन्ता व्यक्त गरेको छ। खराब कर्जा (NPL) बढ्दै गएको, बैंकहरूको पूँजीमा दबाब परेको तथा सहकारी क्षेत्र अझै समस्याग्रस्त रहेको प्रतिवेदनमा उल्लेख छ। हाल एनपीएल ५.४ प्रतिशत पुगेको भन्दै बैंकहरूको कर्जा व्यवस्थापन, जोखिममा आधारित सुपरिवेक्षण र ऋण पोर्टफोलियो समीक्षा (LPR) बाट देखिएका कमजोरी सुधार्न राष्ट्र बैंकलाई सुझाव दिइएको छ।

आईएमएफले नेपाललाई पूँजीगत खर्च बढाउन, कर प्रशासन सुधार गर्न, कर छुटहरू पुनरावलोकन गर्न तथा सार्वजनिक लगानी व्यवस्थापनलाई प्रभावकारी बनाउन पनि सुझाव दिएको छ। आगामी वर्ष विस्तारकारी वित्तीय नीति आवश्यक भए पनि दीर्घकालमा वित्तीय अनुशासन कायम राख्नुपर्नेमा जोड दिइएको छ।

त्यसैगरी, वित्तीय कार्यदल (FATF) को कार्ययोजना प्रभावकारी रूपमा लागू गरी ग्रे लिस्टबाट बाहिरिन तथा सुशासन, भ्रष्टाचार नियन्त्रण र व्यवसायिक वातावरण सुधारमा थप प्रगति गर्न आईएमएफले नेपाललाई आग्रह गरेको छ।


पुरा पाठ पढ्न तलको लिन्कमा क्लिक गर्नुहोस । 

https://www.imf.org/en/publications/cr/issues/2026/06/08/nepal-2026-article-iv-consultation-and-seventh-review-under-the-extended-credit-facility-576691

प्रतिक्रिया 0