प्रधानमन्त्री शाह र भारतीय सेनाध्यक्ष सेठबीच भेट

मंगलबार, २ भदौ २०८३, राति ८:१६
Font Size: 20px

काठमाडौँ । प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाह र भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल–भारतबीचका आपसी हितका विषय तथा दुई देशबीचको सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ।

प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत सहभागी भएको जनाईएको छ। नेपाली सेनाका प्रधान सेनापति जनरल अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा जनरल सेठ चारदिने नेपाल भ्रमणमा छन।

भेटवार्तामा नेपाल–भारतबीच विद्यमान सैन्य तथा रक्षा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइएको छ। यद्यपि, भेटमा छलफल भएका विषयबारे विस्तृत एजेन्डा वा कुनै विशेष निर्णय सार्वजनिक गरिएको छैन।

जनरल सेठले यसअघि नेपाली सेनाका प्रधान सेनापति जनरल अशोकराज सिग्देलसँग पनि भेटवार्ता गर्नुभएको थियो। उक्त भेटमा पनि आपसी हित तथा नेपाल–भारत सैन्य सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

नेपाल भ्रमणका क्रममा जनरल सेठले राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्नसमेत ग्रहण गर्नुभएको छ। नेपाल र भारतबीच एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा सन् १९५० देखि रहँदै आएको छ।

भ्रमणका क्रममा जनरल सेठले नेपाली सेनालाई सैन्य तथा स्वास्थ्य सामग्रीसमेत हस्तान्तरण गर्नुभएको छ। नेपाली सेना र भारतीय सेनाबीच तालिम, उच्चस्तरीय भ्रमण, संयुक्त अभ्यास तथा अन्य सैन्य सहकार्यका माध्यमबाट लामो समयदेखि सम्बन्ध कायम रहँदै आएको छ।

प्रधानमन्त्री शाह र भारतीय सेनाध्यक्ष सेठबीचको भेटलाई दुई देशबीचको सैन्य सम्बन्ध तथा आपसी सहकार्यलाई निरन्तरता दिने क्रममा भएको उच्चस्तरीय संवादका रूपमा हेरिएको छ।

प्रतिक्रिया 0