काठमाडौं। अमेरिकाको प्रतिष्ठित लक्जरी जीवनशैली म्यागजिन ‘रोब रिपोर्ट’ ले सार्वजनिक गरेको ‘५० ग्रेटेस्ट लक्जरी होटल्स अन अर्थ २०२६’ सूचीमा मुस्ताङको शिन्ता मणि मुस्ताङ विश्वकै नम्बर १ लक्जरी होटल बनेको हो।
विश्वका २४ जना अग्रणी लक्जरी यात्रा विशेषज्ञको मूल्याङ्कनका आधारमा तयार गरिएको उक्त सूचीमा शिन्ता मणिले रुवाण्डा, स्कटल्यान्ड, जापान, भारत, इटाली, बेलायत र फ्रान्सका चर्चित लक्जरी होटलहरूलाई पछि पार्दै शीर्ष स्थान हासिल गरेको हो।
सन् २०२३ मा सञ्चालनमा आएको २९ कोठे यो होटल प्रसिद्ध वास्तुविद् बिल बेन्स्ली द्वारा डिजाइन गरिएको हो भने यसको सञ्चालन शेर्पा हस्पिटालिटी ग्रुप ले गर्दै आएको छ। यहाँ घोडचढी, ट्रेकिङ, बोन बौद्ध गाउँ लुब्राको भ्रमण, तिब्बती अम्ची उपचारलगायत विशेष अनुभव प्रदान गरिन्छ।
यो उपलब्धिसँगै नेपाल हिमाल र पदयात्राको गन्तव्य मात्र नभई विश्वस्तरीय लक्जरी पर्यटन गन्तव्य का रूपमा पनि स्थापित हुँदै गएको सन्देश गएको छ।
रोब रिपोर्ट (Robb Report) अमेरिकाबाट प्रकाशित हुने विश्वप्रसिद्ध लक्जरी जीवनशैली (Luxury Lifestyle) पत्रिका तथा डिजिटल मिडिया प्लेटफर्म हो। यो विशेष रूपमा उच्च आय भएका (High-Net-Worth) व्यक्तिहरूलाई लक्षित गर्दै लक्जरी यात्रा, होटल, कार, निजी विमान, याट, घडी, रियल इस्टेट, कला, वाइन तथा विलासी जीवनशैलीसम्बन्धी सामग्री प्रकाशित गर्छ।
प्रतिक्रिया 0