ग्लोबल इनोभेसन इन्डेक्समा कुन देश अगाडी ?

मंगलबार, २० आश्विन २०८३, बिहान ७:१६


हाम्रो बैंकिङ । विश्व बौद्धिक सम्पत्ति संगठन (WIPO) ले सार्वजनिक गरेको विश्व नवप्रवर्तन सूचकांक (ग्लोबल इनोभेसन इन्डेक्स–२०२६) मा नेपाल १०४औँ स्थानमा परेको छ। सूचकांकले विश्वका १३९ अर्थतन्त्रको नवप्रवर्तन क्षमता मूल्याङ्कन गरेको छ। यसमा अनुसन्धान तथा विकास, मानव पूँजी, पूर्वाधार, लगानी, व्यवसायिक क्षमता, ज्ञान तथा प्रविधिको उत्पादन र सिर्जनात्मक उत्पादनलगायत करिब ८० वटा सूचक समावेश छन्। 

विश्व नवप्रवर्तन सूचकांक २०२६ मा स्विट्जरल्यान्ड पहिलो, स्विडेन दोस्रो र संयुक्त राज्य अमेरिका तेस्रो स्थानमा छन्। दक्षिण कोरिया चौथो र सिंगापुर पाँचौँ स्थानमा छन्। स्विट्जरल्यान्ड लगातार १६औँ वर्ष विश्वको सबैभन्दा नवप्रवर्तनशील अर्थतन्त्रका रूपमा शीर्ष स्थानमा रहेको विश्व बौद्धिक सम्पत्ति संगठनले जनाएको छ।

शीर्ष १० मा बेलायत छैटौँ, नेदरल्यान्ड्स सातौँ, फिनल्यान्ड आठौँ, डेनमार्क नवौँ र चीन १०औँ स्थानमा छन्। चीन शीर्ष १० मा पर्ने एकमात्र मध्यम–आय अर्थतन्त्र बनेको छ। जापान १२औँ, इजरायल १५औँ, क्यानडा १६औँ र अष्ट्रेलिया २०औँ स्थानमा छन्। 

दक्षिण तथा मध्य एसियामा भारत सबैभन्दा अगाडि छ। भारत विश्व वरीयतामा ३८औँ स्थानमा रहँदा कजाखस्तान ७३औँ, भुटान ७४औँ, उज्बेकिस्तान ७७औँ, इरान ८१औँ, किर्गिस्तान ९२औँ, श्रीलंका ९४औँ, पाकिस्तान ९५औँ र नेपाल १०४औँ स्थानमा छन्। बंगलादेश १०५औँ स्थानमा छ। नेपाल यस क्षेत्रका ११ अर्थतन्त्रमध्ये नवौँ स्थानमा रहेको छ।

नेपालको प्रदर्शन हेर्दा केही क्षेत्रमा तुलनात्मक रूपमा राम्रो क्षमता देखिएको छ। विश्व बौद्धिक सम्पत्ति संगठनका अनुसार नेपाल सूक्ष्मवित्त संस्थाबाट प्राप्त कर्जा, कुल गार्हस्थ्य उत्पादनको अनुपातमा ३औँ, कुल पुँजी निर्माणमा २१औँ र निजी क्षेत्रतर्फको आन्तरिक कर्जामा २३औँ स्थानमा छ। विज्ञान तथा इन्जिनियरिङका स्नातकमा नेपाल ४६औँ र वैज्ञानिक तथा प्राविधिक लेख प्रकाशनमा ५५औँ स्थानमा छ। 

तर नेपालका केही पक्ष कमजोर देखिएका छन्। सरकारी प्रभावकारितामा नेपाल १२७औँ, उच्च प्रविधिको निर्यातमा १२७औँ, सफ्टवेयर खर्चमा १३०औँ, औसत लागू भन्सार दरमा १३१औँ र आईसीटी सेवाको आयातमा १३५औँ स्थानमा छ। पेटेन्ट परिवारको सूचकमा पनि नेपाल ९८औँ स्थानमा रहेको छ। यसले नेपालमा नवप्रवर्तनको आधार निर्माण भए पनि त्यसलाई प्रविधि, व्यवसाय र उच्च मूल्यका उत्पादनमा रूपान्तरण गर्ने क्षमता अझै बलियो बनाउनुपर्ने देखाउँछ। 

सूचकांकले मध्यम–आय भएका देशहरूको नवप्रवर्तन क्षमता बढ्दै गएको पनि देखाएको छ। चीन, भारत, भियतनाम, टर्की, फिलिपिन्स, मोरक्को र इन्डोनेसिया पछिल्लो दशकमा तीव्र रूपमा माथि आएका देशमध्ये छन्। ब्राजिल, मरिसस, साउदी अरेबिया र कतार पनि माथि उक्लिने क्रममा छन्। 

२०२६ मा कजाखस्तान आठ स्थान माथि उक्लिँदै ७३औँ भएको छ भने भुटान पहिलोपटक सूचकांकमा समावेश भएर ७४औँ स्थानमा आएको छ। किर्गिस्तान र पाकिस्तान चार–चार स्थान सुधार गर्दै क्रमशः ९२औँ र ९५औँ स्थानमा पुगेका छन्। नेपाल पनि अघिल्लो अवस्थाबाट सुधार गर्दै १०४औँ स्थानमा पुगेको विश्व बौद्धिक सम्पत्ति संगठनले जनाएको छ। 

विश्वव्यापी रूपमा एआई, उच्च प्रविधि, अनुसन्धान तथा विकास र स्टार्टअप क्षेत्रमा भइरहेको तीव्र लगानीले नवप्रवर्तनको स्वरूप परिवर्तन गरिरहेको छ। विश्व बौद्धिक सम्पत्ति संगठनका अनुसार एआईले उद्यम पूँजी लगानी र अनुसन्धान तथा विकास खर्चमा पुनः वृद्धि ल्याउन सहयोग गरिरहेको छ। यससँगै अनुसन्धानबाट नयाँ उद्योग र व्यवसाय निर्माण गर्ने ‘डीप साइन्स’ स्टार्टअपहरूको महत्व पनि बढिरहेको छ। 

यस सूचकांकले कुनै देशको नवप्रवर्तन क्षमता केवल नयाँ प्रविधि निर्माण गर्ने क्षमताबाट मात्र निर्धारण नहुने देखाउँछ। दक्ष जनशक्ति, अनुसन्धान तथा विकास, शिक्षा, डिजिटल पूर्वाधार, वित्तीय पहुँच, निजी क्षेत्रको लगानी, बौद्धिक सम्पत्ति संरक्षण र अनुसन्धानलाई बजारसम्म पुर्‍याउने क्षमता सबै महत्वपूर्ण हुन्छन्। नेपालका लागि पनि अनुसन्धानमा लगानी, उच्च प्रविधिको उत्पादन तथा निर्यात, सफ्टवेयर र डिजिटल क्षेत्रको विस्तार, पेटेन्ट तथा स्टार्टअप वातावरण सुधार र सरकारी प्रभावकारिता बढाउनु नवप्रवर्तन क्षमता माथि लैजाने प्रमुख आधार बन्न सक्छ। 

प्रतिक्रिया 0