पूर्वी एसिया तथा प्रशान्त क्षेत्र (ईएपी) मा पछिल्ला दशकहरूमा गरिबी न्यूनीकरण र जीवनस्तर सुधारमा उल्लेखनीय प्रगति भए पनि मध्यम वर्ग विस्तारलाई दिगो बनाउने चुनौती बढ्दै गएको विश्व बैंकको नयाँ अध्ययनले देखाएको छ। अध्ययनअनुसार अहिले यस क्षेत्रका करिब एकतिहाइ मानिस आर्थिक धक्का सहेर पुनः गरिबीमा नझर्ने स्तरको आर्थिक सुरक्षासहित मध्यम वर्गमा छन्। पछिल्लो एक दशकमा मध्यम वर्ग विस्तारको गति विश्वमै सबैभन्दा तीव्र रहे पनि पछिल्ला वर्षहरूमा यसको गति सुस्त भएको छ।
अध्ययनले मध्यम वर्ग विस्तारको सबैभन्दा महत्वपूर्ण आधार गुणस्तरीय रोजगारी रहेको जनाएको छ। उच्च आय समूहका करिब ७७ प्रतिशत र मध्यम वर्गका ५९ प्रतिशत मानिस तलबमा आधारित रोजगारीमा छन्। यसको विपरीत गरिब तथा जोखिममा रहेका मानिसहरू कृषि, अवैतनिक काम र स्वरोजगारीमा बढी केन्द्रित छन्, जहाँ आम्दानी तथा रोजगारीको सुरक्षा तुलनात्मक रूपमा कमजोर हुन्छ। चीनमा मध्यम वर्गको हिस्सा २०१० को ११ प्रतिशतबाट २०२१ मा करिब ४० प्रतिशत पुगे पनि क्षेत्रका अन्य अर्थतन्त्रमा यस्तो विस्तारको गति कम भएको छ।
विश्व बैंकका अनुसार ईएपी क्षेत्रमा रोजगारी दर विश्व औसतभन्दा उच्च भए पनि श्रम उत्पादकत्व र उत्पादकत्व वृद्धिको गति चुनौतीपूर्ण बनेको छ। कृषिबाट बाहिरिएका श्रमिकमध्ये ठूलो हिस्सा उच्च उत्पादकत्व भएको उत्पादन क्षेत्रमा नभई कम उत्पादकत्वका सेवा क्षेत्रमा प्रवेश गरिरहेका छन्। अनौपचारिक रोजगारी पनि व्यापक रहेकाले नयाँ रोजगारी सिर्जना भए पनि ती रोजगारीले मध्यम वर्गमा स्थायी रूपमा उक्लिन आवश्यक आर्थिक सुरक्षा दिन नसकेको अध्ययनले औंल्याएको छ।
यसबीच स्वचालन, कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल प्लेटफर्मले श्रम बजारको स्वरूप परिवर्तन गरिरहेका छन्। विश्व बैंकको अध्ययनअनुसार पाँच प्रमुख ईएपी अर्थतन्त्रमा २०१८ देखि २०२२ सम्म रोबोटको प्रयोगले दक्ष औपचारिक श्रमिकका लागि करिब २० लाख रोजगारी सिर्जना गरे पनि कम सीप भएका नियमित म्यानुअल काममा करिब १४ लाख रोजगारी विस्थापित भएका थिए। डिजिटल प्लेटफर्मले महिला तथा युवाका लागि नयाँ अवसर सिर्जना गरे पनि गिग तथा अनौपचारिक काममा स्वास्थ्य बीमा, पेन्सन र रोजगारी सुरक्षाजस्ता सुविधा सीमित छन्।
विश्व बैंकले मध्यम वर्गलाई थप सुदृढ बनाउन मानव पूँजीमा लगानी, आर्थिक अवसर विस्तार र सामाजिक सुरक्षाको पहुँच बढाउनुपर्ने जनाएको छ। शिक्षा, स्वास्थ्य तथा सीप विकासलाई नयाँ प्रविधिसँग जोड्दै पूर्वाधार, निजी लगानी र व्यवसायिक वातावरण सुधार गर्नुपर्नेमा अध्ययनले जोड दिएको छ। साथै अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई औपचारिक अर्थतन्त्रसँग जोड्ने र पोर्टेबल सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउने आवश्यकता औंल्याइएको छ। बढ्दो मध्यम वर्गले उपभोग र आन्तरिक माग बढाउनुका साथै सार्वजनिक सेवाप्रति नागरिकको अपेक्षा र सरकारको वित्तीय आधारलाई समेत बलियो बनाउने विश्व बैंकको निष्कर्ष छ।
No advertisements available
प्रतिक्रिया 0