अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक प्रभुत्वमाथि चुनौती बढ्दै जाँदा उनको आगामी राजनीतिक कदम अझ आक्रामक र अप्रत्याशित हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले विश्लेषण गरेका छन्। शक्ति र प्रभावमाथि दबाब बढिरहेका बेला ट्रम्प परम्परागत रूपमा पछि हट्नेभन्दा आफ्नो राजनीतिक पकड कायम राख्न थप सक्रिय हुने देखिएको विश्लेषण छ।
पछिल्लो समय ट्रम्प प्रशासनमाथि घरेलु तथा अन्तर्राष्ट्रिय दुवै मोर्चामा दबाब बढेको छ। रटर्स–इप्सोसको पछिल्लो सर्वेक्षणमा ट्रम्पको अनुमोदन दर ३३ प्रतिशतमा झरेको छ, जुन उनको वर्तमान कार्यकालकै न्यूनतम स्तर हो। त्यस्तै, इरानसँगको युद्धलाई समर्थन गर्ने अमेरिकी नागरिकको संख्या पनि घटेर ३१ प्रतिशतमा पुगेको छ। लामो समयसम्म द्वन्द्व चल्ने अपेक्षा र बढ्दो पेट्रोल मूल्यले ट्रम्पको राजनीतिक अवस्थामाथि थप दबाब सिर्जना गरेको रटर्सले जनाएको छ।
आगामी मध्यावधि निर्वाचन ट्रम्पका लागि अर्को महत्वपूर्ण चुनौती बनेको छ। रटर्सका अनुसार विदेश नीतिमा अपेक्षित उपलब्धि देखाउन नसकेको अवस्था, इरान युद्ध र इन्धनको बढ्दो मूल्यले रिपब्लिकन पार्टीका लागि निर्वाचन चुनौतीपूर्ण बनाउन सक्ने देखिएको छ। ट्रम्प प्रशासन भने इन्धनको मूल्य घटाउने प्रयासमा अमेरिकी तेल प्रशोधन तथा खुद्रा क्षेत्रसँग छलफल अघि बढाइरहेको छ।
अन्तर्राष्ट्रिय मोर्चामा पनि ट्रम्पको आक्रामक शैली कायमै देखिन्छ। पछिल्लो समय अमेरिकाले भेनेजुएलाको विशाल तेल भण्डारमा पहुँच तथा नियन्त्रण बढाउने सम्झौता गरेको घोषणा ट्रम्पले गरेका छन्। अल जजिरा र अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यसलाई ट्रम्प प्रशासनको आक्रामक विदेश तथा ऊर्जा नीतिको अर्को महत्वपूर्ण कदमका रूपमा प्रस्तुत गरेका छन्।
ट्रम्पको सञ्चारमाध्यमसँगको टकराव पनि जारी छ। आइतबार उनले एनबीसीकी पत्रकार क्रिस्टिन वेल्करमाथि आफ्नो उम्मेदवार समर्थनको अभिलेखबारे गलत टिप्पणी गरेको आरोप लगाउँदै संघीय सञ्चार आयोगमा उजुरी गर्ने चेतावनी दिएका छन्। रटर्सका अनुसार सञ्चारमाध्यममाथि ट्रम्पको पछिल्लो आक्रमण उनको आलोचकहरूप्रतिको आक्रामक राजनीतिक शैलीकै निरन्तरता हो।
यता, युरोपेली केन्द्रीय बैंकका अधिकारीहरूले समेत ट्रम्प प्रशासनको एकपक्षीय र अप्रत्याशित आर्थिक नीतिप्रति चिन्ता व्यक्त गरेका छन्। रटर्सका अनुसार अमेरिकी वित्तीय तथा मौद्रिक नीतिमा देखिएका असामान्य कदमले विश्व वित्तीय बजारको स्थिरता र अमेरिका–युरोप सम्बन्धबारे थप चिन्ता बढाएको छ।
यसरी हेर्दा ट्रम्प अहिले एकैपटक घरेलु राजनीतिक दबाब, इरान युद्ध, बढ्दो इन्धन मूल्य, मध्यावधि निर्वाचन र अन्तर्राष्ट्रिय सम्बन्धमा बढ्दो असन्तुष्टिको सामना गरिरहेका छन्। यही परिस्थितिमा उनको राजनीतिक प्रभुत्वमाथि चुनौती बढ्दै जाँदा उनी अझ आक्रामक र विवादास्पद कदममार्फत आफ्नो प्रभाव कायम राख्न खोज्न सक्ने विश्लेषण गरिएको छ।
आगामी महिनामा ट्रम्पका निर्णयले अमेरिकी घरेलु राजनीतिमा मात्र होइन, विश्व ऊर्जा बजार, अन्तर्राष्ट्रिय व्यापार, मध्यपूर्वको सुरक्षा र अमेरिका–युरोप सम्बन्धमा समेत प्रभाव पार्न सक्ने देखिन्छ
No advertisements available
प्रतिक्रिया 0