कन्टेन्ट क्रिएटरसँग सहकार्य गर्दै पर्यटन बोर्ड

शनिबार, १४ कार्तिक २०८३, बिहान ६:५३


काठमाडौं। नेपालको पर्यटन प्रवर्द्धनलाई थप प्रभावकारी र अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने उद्देश्यसहित नेपाल पर्यटन बोर्डले कन्टेन्ट क्रिएटरहरूलाई सहभागिताका लागि आह्वान गरेको छ।

बोर्डले नेपालका प्राकृतिक सौन्दर्य, ओझेलमा परेका पर्यटकीय गन्तव्य, विविध संस्कृति, मौलिक परम्परा तथा साहसिक पर्यटनका अनुभवलाई तस्बिर, भिडियो र सिर्जनात्मक कथामार्फत विश्वसामु पुर्‍याउन इच्छुक क्रिएटरहरूलाई आमन्त्रण गरेको हो।

यस पहलअन्तर्गत छनोटमा पर्ने कन्टेन्ट क्रिएटरहरूलाई नेपालका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गरी प्रचारात्मक सामग्री तयार पार्न प्रायोजित भ्रमण (Sponsored Trip) को अवसर प्रदान गरिनेछ।

त्यस्तै, कन्टेन्ट क्रिएसनलाई केवल सामाजिक सञ्जालमा सामग्री प्रकाशन गर्ने गतिविधिमा सीमित नराखी व्यावसायिक उद्योगका रूपमा विकास गर्ने लक्ष्यसमेत अघि सारिएको छ। यसले डिजिटल माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धन गर्नुका साथै सिर्जनशील युवालाई पर्यटन अर्थतन्त्रसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपालका पर्यटकीय सम्भावना, संस्कृति र मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउन डिजिटल सामग्री सिर्जनाकर्ताको भूमिका महत्त्वपूर्ण हुने बोर्डको विश्वास छ ।

यस अवसरमा सहभागी हुन इच्छुक कन्टेन्ट क्रिएटरहरूले आफ्नो विवरण content@ntb.org.np मा पठाउन सक्नेछन्।

प्रतिक्रिया 0