अर्थतन्त्र चलायमान बनाउन प्रधानमन्त्रीको निजी क्षेत्रसँग संवाद

बुधबार, २४ असार २०८३, दिउँसो १:३२
Font Size: 20px

काठमाडौ । देशको सुस्त आर्थिक गतिविधिलाई चलायमान बनाउन प्रधानमन्त्रीले उद्योगी–व्यवसायीसँग विशेष संवाद गरेका छन्। संवादमा निजी क्षेत्रको मनोबल बढाउने, लगानीमैत्री वातावरण सिर्जना गर्ने, उत्पादन र रोजगारी विस्तार गर्ने तथा अर्थतन्त्रमा देखिएका समस्या समाधानका उपायबारे विस्तृत छलफल भएको छ। 

संवादका क्रममा उद्योगी–व्यवसायीहरूले लगानी विस्तारमा देखिएका नीतिगत तथा प्रक्रियागत अवरोध हटाउन, बैंकिङ प्रणालीमार्फत निजी क्षेत्रमा कर्जा प्रवाह सहज बनाउन, निर्माण व्यवसायीको भुक्तानी, पूँजीगत खर्चको प्रभावकारी कार्यान्वयन तथा व्यवसायमैत्री नीतिगत सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। 

प्रधानमन्त्रीले निजी क्षेत्र अर्थतन्त्रको प्रमुख साझेदार भएकाले सरकार व्यवसायमैत्री वातावरण निर्माण, लगानी प्रोत्साहन र आर्थिक गतिविधिलाई गति दिने आवश्यक नीतिगत तथा प्रशासनिक सुधारका लागि प्रतिबद्ध रहेको बताएका छन्। सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा नयाँ उत्साह ल्याउने उद्देश्यले यस्तो संवाद आयोजना गरिएको जनाइएको छ। 

बैठकमा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघ का अध्यक्ष अन्जन श्रेष्ठ, महासंघ उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघ का निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक डा. घनश्याम ओझा तथा नेपाल चेम्बर अफ कमर्स का अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा सहभागी भएका छन।

प्रतिक्रिया 0