कुल विदेशी विनिमय सञ्चिति ४१ खर्ब
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालमा ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८३ भदौसम्म विप्रेषण आप्रवाह अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.९ प्रतिशतले बढेको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो।
अमेरिकी डलरमा समीक्षा अवधिमा विप्रेषण आप्रवाह १३.५ प्रतिशतले बढेर २ अर्ब ८५ करोड अमेरिकी डलर पुगेको छ। भदौ महिनामा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ विप्रेषण नेपाल भित्रिएको छ। यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ७८ हजार ३२० र पुनः श्रम स्वीकृति लिनेको संख्या ५२ हजार १६३ पुगेको छ।
विप्रेषण आप्रवाहसँगै नेपालको विदेशी मुद्रा सञ्चितिमा पनि सुधार भएको छ। भदौ मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २६ अर्ब ४८ करोड अमेरिकी डलर रहेको छ। राष्ट्र बैंकका अनुसार उक्त सञ्चितिले १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ।
बाह्य क्षेत्रका अन्य सूचक पनि सकारात्मक छन्। समीक्षा अवधिमा चालु खाता १ खर्ब ६९ अर्ब ४ करोड रुपैयाँ बचतमा रहेको छ भने शोधनान्तर स्थिति १ खर्ब ८७ अर्ब ६८ करोड रुपैयाँ बचतमा रहेको छ। विप्रेषणमा भएको वृद्धिले विदेशी मुद्रा आम्दानी बढाउन तथा बाह्य क्षेत्रको स्थायित्व कायम गर्न महत्वपूर्ण योगदान गरेको छ।
तर, विप्रेषण र विदेशी मुद्रा सञ्चितिमा सुधार भए पनि व्यापार घाटाको दबाब भने कायमै छ। समीक्षा अवधिमा वस्तु आयात ३१.६ प्रतिशतले बढेर ४ खर्ब १ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ। वस्तु निर्यात ६१.९ प्रतिशतले बढेर ७६ अर्ब ५९ करोड रुपैयाँ पुगे पनि आयातको आकार ठूलो भएकाले व्यापार घाटा २६ प्रतिशतले बढेर ३ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ।
यसरी चालु आर्थिक वर्षको पहिलो दुई महिनामा विप्रेषण आप्रवाहले बाह्य क्षेत्रलाई बलियो बनाउन सहयोग गरेको देखिए पनि आयातको उच्च वृद्धिका कारण व्यापार घाटाको चुनौती कायमै रहेको छ। विदेशी मुद्रा सञ्चितिमा भएको वृद्धि र विप्रेषणको बढ्दो प्रवाहले बाह्य क्षेत्रलाई राहत दिएको भए पनि दीर्घकालीन रूपमा व्यापार घाटा घटाउन निर्यात विस्तार र उत्पादन वृद्धि महत्वपूर्ण देखिएको छ।
No advertisements available
प्रतिक्रिया 0