काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भएको सम्बोधनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चा पाएको छ। विभिन्न अन्तर्राष्ट्रिय मिडियाले उनको सम्बोधनलाई मुख्यतः नेपालको विनाशकारी बाढी, जलवायु संकट, हिमालयको बढ्दो जोखिम, जलवायु न्याय र अन्तर्राष्ट्रिय सहयोगको मागसँग जोडेर प्रस्तुत गरेका छन्।
एसोसिएटेड प्रेस (एपी) ले नेपालको पछिल्लो बाढीलाई जलवायु परिवर्तनका कारण उत्पन्न हुन सक्ने विश्वव्यापी जोखिमको चेतावनीका रूपमा प्रस्तुत गरेको छ। एपीको रिपोर्टमा प्रधानमन्त्री शाहले बाढीलाई ‘विश्वका लागि चेतावनी’ का रूपमा व्याख्या गर्दै जलवायु संकटलाई गम्भीर रूपमा लिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको उल्लेख छ।
रोयटर्स को कभरेजमा भने विपद्पछिको पुनर्निर्माण तथा जलवायु संकटबाट प्रभावित नेपाललाई आवश्यक अन्तर्राष्ट्रिय सहयोगको विषयलाई प्राथमिकता दिइएको छ। नेपालले जलवायुजन्य क्षति व्यहोर्दै आएको र पुनर्निर्माण तथा पुनःस्थापनाका लागि थप अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको विषय बालेनको सम्बोधनको महत्वपूर्ण पक्ष बनेको छ।
द न्युयोर्क टाइम्स ले बालेनको राजनीतिक तथा व्यक्तिगत पहिचानलाई समेत आफ्नो कभरेजको हिस्सा बनाएको छ। उनको युवा राजनीतिक उदय, पूर्वर्यापर तथा काठमाडौंका पूर्वमेयरको पृष्ठभूमिसँगै जलवायु क्षतिपूर्ति र विश्वका बढी उत्सर्जन गर्ने मुलुकले जिम्मेवारी लिनुपर्ने उनको सन्देशलाई रिपोर्टमा जोड दिइएको छ। यसले बालेनको अन्तर्राष्ट्रिय छविलाई जलवायु मुद्दासँगै उनको असामान्य राजनीतिक यात्रासँग पनि जोडेको देखिन्छ।
एनडीटीभी ले नेपाल, भारत र चीनको नेतृत्वमा हिमालय जलवायु उत्थानशीलता संयन्त्र निर्माण गर्ने बालेनको प्रस्तावलाई प्रमुखता दिएको छ। उक्त प्रस्तावमा उपग्रह तथ्यांक तथा विशेषज्ञता आदानप्रदान, जोखिमयुक्त हिमतालको निगरानी, संयुक्त पूर्वसूचना प्रणाली र विपद्का बेला सीमापार राहत तथा उद्धार समन्वय गर्ने विषय समेटिएका छन्।
हिन्दुस्तान टाइम्स ले पनि नेपाल, भारत र चीनको संयुक्त नेतृत्वमा हिमालय जलवायु संयन्त्र निर्माण गर्ने प्रस्तावलाई प्रमुख विषय बनाएको छ। हिमालय क्षेत्रमा बढ्दो तापक्रम र जलवायु परिवर्तनले संवेदनशील पारिस्थितिक प्रणालीमा पारिरहेको असर तथा त्यससँग जुध्न क्षेत्रीय सहकार्य आवश्यक रहेको विषयलाई रिपोर्टले उठाएको छ।
बीबीसी र अल जजिरा का अघिल्ला सामग्रीमा भने बालेनको राजनीतिक यात्रालाई बढी केन्द्रमा राखिएको छ। पूर्वर्यापर तथा काठमाडौंका पूर्वमेयरबाट राष्ट्रिय राजनीतिमा उदाएका युवा नेताका रूपमा उनको परिचय, नयाँ पुस्ताको राजनीतिक उभार र परम्परागत राजनीतिक शक्तिलाई चुनौती दिएको उनको यात्रालाई ती मिडियाले विभिन्न सामग्रीमा प्रस्तुत गरेका छन्।
यसैगरी एएफपी, फ्रान्स २४, अरब न्युज, द कोरिया टाइम्स र अनादोलु एजेन्सीलगायतका सञ्चारमाध्यममा पनि बालेनको यूएन सम्बोधन र नेपालको जलवायु संकटसम्बन्धी सन्देशले स्थान पाएको छ। बाढीलाई विश्वव्यापी जलवायु चेतावनीका रूपमा प्रस्तुत गरिएको विषय, जलवायु न्याय, हिमालय संरक्षण र अन्तर्राष्ट्रिय सहकार्य प्रमुख विषय बनेका छन्।
बालेनको सम्बोधनको अर्को महत्वपूर्ण पक्ष नेपालको जलवायु न्यायसम्बन्धी दाबी हो। नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा अत्यन्त न्यून योगदान गरे पनि जलवायु परिवर्तनको ठूलो असर भोगिरहेको भन्दै उनले बढी ऐतिहासिक जिम्मेवारी र बढी क्षमता भएका मुलुकले थप जिम्मेवारी लिनुपर्ने बताएका छन्। उनले जलवायु न्यायलाई कागजी प्रतिबद्धतामा सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्री शाहले हिमालयलाई अन्तर्राष्ट्रिय सहकार्यको केन्द्र बनाउनुपर्ने धारणा पनि राखेका छन्। उनका अनुसार हिन्दुकुश–हिमालय क्षेत्र करिब दुई अर्ब मानिसको पानी, कृषि, पारिस्थितिक प्रणाली र जीविकोपार्जनसँग जोडिएको छ। त्यसैले हिमालयमा हुने परिवर्तन नेपाल मात्र नभई क्षेत्रीय र विश्वव्यापी चासोको विषय भएको उनको तर्क छ।
No advertisements available
प्रतिक्रिया 0