वर्षाले टुंग्यायो नेपालको एसियन गेम्स क्रिकेट यात्रा

मंगलबार, १३ आश्विन २०८३, बिहान ५:५२


जापानमा जारी एसियन गेम्स २०२६ अन्तर्गत पुरुष क्रिकेटमा नेपालको यात्रा क्वार्टरफाइनलमै टुंगिएको छ। नेपाल र श्रीलंकाबीचको क्वार्टरफाइनल खेल लगातार वर्षाका कारण हुन नसकेपछि श्रीलंका सेमिफाइनलमा प्रवेश गरेको छ। खेल रद्द भएपछि प्रतियोगिताको वरीयता नियमअनुसार उच्च वरीयतामा रहेको श्रीलंकाले अन्तिम चारमा स्थान बनाएको हो।

नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै क्वार्टरफाइनल पुगेको थियो। समूह चरणमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो भने जापानविरुद्धको खेल वर्षाका कारण पूरा हुन सकेको थिएन। त्यसपछि श्रीलंकासँगको क्वार्टरफाइनलमा पनि वर्षा बाधक बनेपछि नेपालले मैदानमा प्रतिस्पर्धा गर्ने अवसर नै पाएन।

यसअघि सोमबार पनि वर्षाका कारण पाकिस्तान–हङकङ र भारत–अफगानिस्तानबीचका दुवै क्वार्टरफाइनल रद्द भएका थिए। उच्च वरीयताका आधारमा पाकिस्तान र भारत सेमिफाइनल पुगेका थिए। श्रीलंकाले अब सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया 0