इन्धन सस्तो भएपछि सडक यातायातको भाडा “घट्दै”, हवाई भाडा के हुन्छ?

बुधबार, १७ असार २०८३, राति ९:३७
Font Size: 20px

काठमाडौं। नेपाल आयल निगमले डिजेल, पेट्रोल तथा हवाई इन्धनको मूल्य घटाएपछि सार्वजनिक यातायातको भाडा समायोजन हुने भएको छ। तर सडक यातायातमा तत्काल प्रभाव देखिन लागे पनि आन्तरिक हवाई भाडामा भने तत्काल ठूलो राहत आउने सम्भावना कम देखिएको छ।

यातायात व्यवस्था विभागका निर्देशक मणिराम भुसालका अनुसार निगमले डिजेलको मूल्य प्रतिलिटर ३० रुपैयाँ घटाएसँगै स्वचालित भाडा समायोजन प्रणालीअनुसार अन्तरप्रदेश सार्वजनिक यातायात तथा मालवाहक सवारी साधनको नयाँ भाडादर गणना भइरहेको छ। विभागले साँझसम्म नयाँ भाडादर सार्वजनिक गर्ने जनाएको छ।

उनका अनुसार भाडा निर्धारण गर्दा इन्धनको मूल्य मात्र होइन, सवारी साधनको खरिद लागत, चालक–परिचालकको पारिश्रमिक, मर्मत, बिमा, सञ्चालन खर्च, मुनाफालगायत १३ वटा सूचकलाई आधार बनाइन्छ। इन्धनको मूल्यमा ५ प्रतिशत वा सोभन्दा बढी परिवर्तन भएमा त्यसको प्रभावका आधारमा भाडा समायोजन गर्ने व्यवस्था छ।

यातायात व्यवस्था विभागका निर्देशक मणिराम भुसालका अनुसार यसअघि वैशाखमा इन्धन महँगिएपछि वास्तविक हिसाबले सार्वजनिक यातायातको भाडा ९.८ प्रतिशत बढ्नुपर्ने अवस्था भए पनि जनजीविकालाई ध्यानमा राख्दै सरकारले ५ प्रतिशत मात्रै बढाएको थियो। त्यसैले अहिले इन्धनको मूल्य घटे पनि भाडा त्यही अनुपातमा धेरै नघट्न सक्ने उनले बताए।

यसअघि चैत २५ गते पनि सार्वजनिक यातायातको भाडा उल्लेख्य रूपमा बढाइएको थियो। त्यसपछि डिजेलको मूल्य प्रतिलिटर ५५ रुपैयाँसम्म बढेपछि वैशाखमा पुनः ५ प्रतिशत भाडा समायोजन गरिएको थियो। अहिले भने निगमले एकै पटक डिजेलको मूल्य ३० रुपैयाँले घटाएको छ।

यता, प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा भने सम्बन्धित प्रदेश सरकारले निर्धारण गर्ने भएकाले काठमाडौं उपत्यकालगायतका स्थानीय रुटको भाडाबारे तत्काल निर्णय भएको छैन। बागमती प्रदेश सरकारका अधिकारीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य स्थिर हुने संकेत देखिएपछि समयसापेक्ष निर्णय गरिनेछ।

हवाई यात्रुको चासो भने आन्तरिक हवाई भाडामा केन्द्रित छ। निगमले हवाई इन्धनको मूल्य पनि प्रतिलिटर ४० रुपैयाँले घटाएपछि हवाई भाडा पनि घट्ने अपेक्षा गरिएको छ। तर वायुसेवा सञ्चालक सङ्घका महासचिव मुरलीधर जोशीका अनुसार हवाई भाडा इन्धन शुल्क र आधारभूत भाडाको स्वचालित सूत्रका आधारमा निर्धारण हुने भएकाले अधिकांश वायुसेवा कम्पनीले यसअघि नै केही भाडा समायोजन गरिसकेका छन्।

उनका अनुसार अहिले भएको इन्धन मूल्य कटौतीले कम्पनीहरूले यसअघि दिएको छुटभित्रै समेटिन सक्ने भएकाले सङ्घले छुट्टै रूपमा हवाई भाडा घटाउने निर्णय गर्ने सम्भावना कम छ। 

प्रतिक्रिया 0