विश्वमा चरम गरिबी अझै १० प्रतिशतभन्दा माथि

सोमबार, १२ आश्विन २०८३, राति १०:०६


विश्व बैंकका अनुसार सन् २०२४ मा विश्वको करिब १०.१ प्रतिशत जनसंख्या चरम गरिबीमा; २०२६ सम्म घटेर ९.८ प्रतिशतमा झर्ने प्रक्षेपण

विश्व बैंकको सेप्टेम्बर २०२६ को पछिल्लो विश्व गरिबी अपडेटअनुसार सन् २०२४ मा विश्वभर ८२ करोड ४० लाखभन्दा बढी मानिस चरम गरिबीमा बाँचिरहेका थिए। यो विश्वको कुल जनसंख्याको करिब १०.१ प्रतिशत हो। विश्व बैंकले चरम गरिबीलाई सन् २०२१ को खरिद शक्ति समानता (PPP) का आधारमा प्रतिव्यक्ति प्रतिदिन ३ अमेरिकी डलरभन्दा कममा जीवनयापन गर्नु भनेर परिभाषित गरेको छ ।

विश्व बैंकका अनुसार चरम गरिबी घटाउने विश्वव्यापी प्रगति पछिल्ला वर्षमा सुस्त बनेको छ। नयाँ अनुमानमा सन् २०२४ को १०.१ प्रतिशतबाट सन् २०२६ मा चरम गरिबीको दर ९.८ प्रतिशतमा मात्र झर्ने प्रक्षेपण गरिएको छ। अर्थात् दुई वर्षको अवधिमा सुधार सीमित रहने देखिएको छ। यी २०२५ र २०२६ का तथ्यांक प्रत्यक्ष सर्वेक्षणमा आधारित अन्तिम तथ्यांक नभई राष्ट्रिय लेखा तथा आर्थिक वृद्धिको प्रक्षेपणबाट तयार गरिएका ‘नाउकास्ट’ हुन्। 

क्षेत्रगत रूपमा भने गरिबीको अवस्था समान छैन। विश्व बैंकका अनुसार उप-सहारा अफ्रिका तथा मध्यपूर्व, उत्तर अफ्रिका, अफगानिस्तान र पाकिस्तान समेटिएको क्षेत्रमा चरम गरिबीको दर अझै उच्च छ। विशेषगरी द्वन्द्व, नाजुक अर्थतन्त्र, कमजोर रोजगारी सिर्जना र आर्थिक वृद्धिको सुस्त गतिले गरिबी न्यूनीकरणमा चुनौती थपिरहेका छन्। 

विश्व बैंकले पछिल्लो अद्यावधिकमा यसअघि प्रकाशित तथ्यांकसमेत संशोधन गरेको छ। मार्च २०२६ को अनुमानमा सन् २०२४ का लागि चरम गरिबीमा रहेका मानिसको संख्या करिब ८४ करोड ६८ लाख थियो भने नयाँ तथ्यांकमा यो संख्या घटेर ८२ करोड ४३ लाख पुगेको छ। यस्तो संशोधन नयाँ घरपरिवार सर्वेक्षण, देशगत अनुमानमा सुधार तथा जनसंख्या, उपभोक्ता मूल्य सूचकांक र राष्ट्रिय लेखासम्बन्धी तथ्यांक अद्यावधिक गरिएपछि भएको बैंकले जनाएको छ। 

दीर्घकालीन रूपमा हेर्दा विश्वले चरम गरिबी घटाउन ठूलो प्रगति गरेको भए पनि पछिल्लो गति कमजोर भएको विश्व बैंकको निष्कर्ष छ। गरिबी न्यूनीकरणलाई तीव्र बनाउन समावेशी आर्थिक वृद्धि, उत्पादक रोजगारी र श्रम आम्दानी वृद्धि, शिक्षा तथा पूर्वाधारमा लगानी आवश्यक रहेको बैंकले औंल्याएको छ। साथै, जलवायुजन्य विपद् तथा अन्य आर्थिक झट्काबाट गरिब परिवारलाई जोगाउने सामाजिक तथा आर्थिक सुरक्षा पनि महत्वपूर्ण हुने बैंकको विश्लेषण छ। 

प्रतिक्रिया 0