निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन
नयाँदिल्ली । भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद चर्किँदै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि नयाँ राजनीतिक दबाब देखिएको छ। जेनेरेसन–जेड नेतृत्वको ककक्रोच जनता पार्टी (सीजेपी) तथा विद्यार्थी र नागरिक अभियन्ताहरूका समूहले शुक्रबार नयाँदिल्ली र मुम्बईमा प्रदर्शन गर्दै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागेका छन्। सीजेपीले मुम्बईबाट सुरु गरेको आन्दोलनलाई आगामी दिनमा देशका अन्य शहरसम्म विस्तार गर्ने जनाएको छ।
विवादको केन्द्रमा भारतको राष्ट्रव्यापी विशेष गहन पुनरावलोकन (एसआईआर) अन्तर्गत भइरहेको मतदाता सूची प्रमाणीकरण तथा संशोधन प्रक्रिया छ। विपक्षी दल र प्रदर्शनकारीहरूले यस प्रक्रियाका क्रममा ठूलो संख्यामा योग्य मतदाताको नाम हटाइएको र सूचीमा गरिएको परिवर्तनले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)लाई फाइदा पुग्ने आरोप लगाएका छन्। निर्वाचन आयोग र सरकारले भने यी आरोप अस्वीकार गर्दै एसआईआरको उद्देश्य दोहोरिएका, मृत तथा अयोग्य मतदाताको नाम हटाएर मतदाता सूचीलाई अद्यावधिक गर्नु रहेको बताएका छन्।
निर्वाचन आयोगको भूमिकामाथि प्रश्न उठाउने क्रम पछिल्लो समय थप बढेको छ। इन्डियन एक्सप्रेसको रिपोर्टअनुसार निर्वाचन आयुक्तका दुई सहकर्मीले पछिल्लो १० महिनामा मतदाता सूची संशोधन, दर्ता प्रक्रिया र आयोगको डिजिटल प्रणालीबारे कम्तीमा १४ पटक चासो वा आपत्ति जनाएका थिए।
आयोगले भने आन्तरिक छलफलमा फरक धारणा आउनु सामान्य प्रक्रिया भएको जनाएको छ। शुक्रबार नयाँदिल्लीको जन्तरमन्तर क्षेत्रमा प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको र सुरक्षा व्यवस्थाका कारण केही मेट्रो स्टेशन बन्द गरिएको रोयटर्सले जनाएको छ। यसैबीच कांग्रेससहितका विपक्षी दलहरूले पनि अक्टोबर ६ देखि छुट्टै प्रदर्शन गर्ने तयारी गरेका छन्।
No advertisements available
प्रतिक्रिया 0