काठमाडौं। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको Financial Stability Report (Issue 17) ले नेपालको वित्तीय प्रणाली समग्रमा स्थिर, सुरक्षित र बाह्य तथा आन्तरिक आर्थिक झट्का सहन सक्ने अवस्थामा रहेको निष्कर्ष निकालेको छ। प्रतिवेदनले अर्थतन्त्रमा सुधारका संकेत देखिए पनि बैंकिङ क्षेत्रका केही संरचनागत जोखिम अझै कायम रहेको औंल्याएको छ।
प्रतिवेदनअनुसार समीक्षा अवधिमा नेपालको आर्थिक गतिविधिमा सुधार देखिएको छ। आर्थिक वृद्धिदर ४.६१ प्रतिशत पुगेको, मुद्रास्फीति ४.०६ प्रतिशतमा सीमित रहेको, विप्रेषण आप्रवाह उच्च दरले बढेको तथा विदेशी विनिमय सञ्चिति र शोधनान्तर स्थिति सुदृढ बनेकाले समग्र वित्तीय प्रणालीलाई सकारात्मक आधार प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ।
बैंक तथा वित्तीय संस्थाहरूको पूँजी पर्याप्त रहेको, तरलता सहज रहेको तथा नियामकीय मापदण्डअनुसार पूँजी पर्याप्तता कायम रहेको प्रतिवेदनमा उल्लेख छ। राष्ट्र बैंकले गरेको 'स्ट्रेस टेस्ट' ले समेत बैंकिङ प्रणालीले सम्भावित आर्थिक झट्का सामना गर्ने क्षमता कायम राखेको देखाएको छ।
यद्यपि प्रतिवेदनले खराब कर्जा (Non-Performing Loan–NPL) ४.६२ प्रतिशत पुगेको भन्दै यसलाई बैंकिङ क्षेत्रको सबैभन्दा ठूलो चुनौतीका रूपमा औंल्याएको छ। व्यवसाय विस्तार अपेक्षाअनुसार हुन नसक्नु, रियल इस्टेट तथा निर्माण क्षेत्रको सुस्तता र केही क्षेत्रमा ऋण असुली कमजोर रहँदा सम्पत्ति गुणस्तरमा दबाब परेको राष्ट्र बैंकको निष्कर्ष छ।
यसबाहेक बैंकिङ क्षेत्रको नाफामा भने सुधार देखिएको छ। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ७७.५३ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा १०.०७ प्रतिशत बढी हो। निक्षेपमा निरन्तर वृद्धि र पर्याप्त तरलताका कारण बैंकिङ प्रणालीमा लगानीका लागि स्रोत अभाव नरहेको प्रतिवेदनले उल्लेख गरेको छ।
प्रतिवेदनले डिजिटल भुक्तानी प्रणाली र वित्तीय पहुँच विस्तार भइरहेको उल्लेख गर्दै वित्तीय क्षेत्र थप आधुनिक बन्दै गएको जनाएको छ। साथै पूँजी बजारमा क्रमिक सुधारका संकेत देखिए पनि बजार तथा कर्जा जोखिमलाई निरन्तर निगरानीमा राख्नुपर्ने आवश्यकता औंल्याइएको छ।
राष्ट्र बैंकले आगामी दिनमा वित्तीय स्थायित्व कायम राख्न कर्जा गुणस्तर सुधार, जोखिम व्यवस्थापन सुदृढीकरण, साइबर सुरक्षा, जलवायुजन्य वित्तीय जोखिम व्यवस्थापन तथा दिगो वित्त प्रवर्द्धनमा विशेष जोड दिनुपर्ने सुझाव दिएको छ।
प्रतिक्रिया 0