एनपीएल फाइनलको टिकट केही मिनेटमै सोल्डआउट

शुक्रबार, ४ मंसिर २०८३, बेलुका ५:१५


हाम्रो बैंकिङ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्री खुला गरेको केही मिनेटमै सबै टिकट बिक्री भएको जनाएको छ। भोलि मंसिर ५ गते हुने फाइनल खेलको टिकट खरिद गर्न एकैपटक करिब २ लाख प्रयोगकर्ताले प्रयास गरेपछि टिकट उपलब्धता सीमित हुँदा केही मिनेटमै सबै टिकट सोल्डआउट भएको क्यानले जनाएको हो।

क्यानले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै टिकट खरिदका लागि ठूलो संख्यामा दर्शकले एकैपटक प्रयास गरेको जानकारी दिएको हो। क्रिकेट मैदानको क्षमताअनुसार टिकट संख्या सीमित भएकाले सबै इच्छुक दर्शकलाई टिकट उपलब्ध गराउन नसकिएको क्यानले स्पष्ट पारेको छ।

एनपीएलप्रति नेपाली क्रिकेटप्रेमीले देखाएको अपार माया, साथ र उत्साहप्रति क्यानले आभार व्यक्त गरेको छ। साथै, टिकट नपाएर असुविधामा परेका समर्थकहरूप्रति क्षमायाचना गरेको छ।

टिकट खरिद गर्न नसकेका समर्थकलाई अनलाइन तथा आधिकारिक प्लेटफर्ममार्फत फाईनल हेरेर सहयोग गर्न पनि क्यानले अनुरोध गरेको छ।


प्रतिक्रिया 0