विदेशी मुद्रा सञ्चिति ३९ खर्ब, करिब २० महिनाको आयात धान्ने

बुधबार, १० भदौ २०८३, बेलुका ७:१०

काठमाडौं । नेपालको कुल विदेशी विनिमय सञ्चिति आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा रु. ३८ खर्ब ९७ अर्ब ६७ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २५ अर्ब ३१ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको तुलनामा विदेशी विनिमय सञ्चिति उल्लेख्य रूपमा बढेको हो। 

नेपाल राष्ट्र बैंकका अनुसार कायम रहेको विदेशी विनिमय सञ्चिति १९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ। आयातमा निर्भर नेपालको अर्थतन्त्रमा विदेशी मुद्रा सञ्चितिले पेट्रोलियम पदार्थ, मेसिनरी, कच्चा पदार्थ, खाद्यान्नलगायत आवश्यक वस्तुको आयात भुक्तानी गर्ने क्षमता निर्धारण गर्छ।

विदेशी मुद्रा सञ्चिति बढ्नुमा विप्रेषण आप्रवाहको तीव्र वृद्धि मुख्य आधार बनेको देखिन्छ। सञ्चिति पर्याप्त हुँदा बाह्य भुक्तानी क्षमता बलियो हुनुका साथै विदेशी मुद्रा अभावको जोखिम पनि कम हुन्छ। त्यसैले समीक्षा वर्षको अन्त्यमा नेपालको बाह्य क्षेत्रको सबैभन्दा बलियो पक्षका रूपमा विदेशी मुद्रा सञ्चितिलाई लिन सकिन्छ।

प्रतिक्रिया 0