आर्थिक सर्वेक्षण २०८२/८३ : बजारमा सुस्ती, बैंकमा तरलता

Thursday, 28 May 2026, 12:25 PM
34 पटक हेरियो
Font Size: 20px

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर केवल ३.८५ प्रतिशतमा सीमित रहने अनुमान गरिएको छ। अर्थमन्त्री Swarnim Wagle ले बुधबार संघीय संसद्मा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै विश्वव्यापी आर्थिक अनिश्चितता र आन्तरिक आर्थिक सुस्तताबीच नेपालको अर्थतन्त्र अपेक्षाअनुसार विस्तार हुन नसकेको बताएका हुन्।

अर्थमन्त्री वाग्लेले विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, व्यापार अवरोध, उच्च भू-राजनीतिक तनाव तथा मध्यपूर्व र एशियाली क्षेत्रमा जारी द्वन्द्वले विश्व आर्थिक गतिविधिमा असर परेको उल्लेख गरे। उनका अनुसार सन् २०२६ मा विश्व अर्थतन्त्रको वृद्धि ३.१ प्रतिशतमा सीमित रहने अनुमान गरिएको छ।

यही अन्तर्राष्ट्रिय दबाबको प्रभाव नेपाली अर्थतन्त्रमा पनि परेको भन्दै उनले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि अनुमान ३.८५ प्रतिशतमा सीमित रहने जानकारी दिए। गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.४३ प्रतिशत रहेको थियो। यस आधारमा चालु वर्षमा आर्थिक गतिविधि अझ सुस्त बनेको देखिएको छ।

आर्थिक सर्वेक्षणअनुसार कृषि क्षेत्रको उत्पादनमा केही सुधार देखिए पनि उद्योग, निर्माण, व्यापार र निजी लगानी क्षेत्र अपेक्षाअनुसार चलायमान हुन सकेका छैनन्। बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदा पनि निजी क्षेत्रबाट कर्जा माग कमजोर रहेको उल्लेख गरिएको छ।

त्यस्तै, पुँजीगत खर्च कमजोर रहनु, उपभोग घट्नु, आयात–निर्यातमा असन्तुलन, निर्माण व्यवसायमा मन्दी तथा निजी क्षेत्रको आत्मविश्वास कमजोर हुनु अर्थतन्त्र विस्तारमा मुख्य चुनौतीका रूपमा देखिएको छ।


पुरै रिपोर्ट हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस । 

https://mof.gov.np/content/1738/economic-survey-2082-83/



10 घण्टा अगाडि
34 पटक हेरियो

प्रतिक्रिया 0