नेपाल सयभन्दा बढी हिमताल फुट्ने जोखिममा

बिहीबार, ११ भदौ २०८३, राति १०:४९

काठमाडौँ । हिमाली मुलुक नेपालमा कम्तीमा एक सयभन्दा बढी हिमताल फुट्ने जोखिममा रहेको विज्ञहरूले बताएका छन्। बढ्दो तापक्रमका कारण हिमालमा हिउँ तीव्र रूपमा पग्लिनु, नयाँ हिमताल बन्ने क्रम बढ्नु तथा हिमतालमा पानीको मात्रा बढ्दै जानुले जोखिम थप गम्भीर बन्दै गएको विज्ञहरूको भनाइ छ। हिन्दकुश हिमालय क्षेत्रमा नेपाल र तिब्बततर्फ जोखिमयुक्त हिमतालको संख्या बढी रहेको विभिन्न अध्ययनले देखाएका छन्।

गोरखापत्र अनलाइनका अनुसार, चाइनिज एकेडेमी अफ साइन्सेजबाट हिमतालसम्बन्धी विद्यावारिधि गरेका वैज्ञानिक डा. नितेश खड्काले सन् २०२० तिर गरिएको अध्ययनले नेपालका २१ हिमताललाई जोखिमयुक्त देखाए पनि पछिल्लो अवस्थामा जोखिममा रहेका हिमतालको संख्या एक सयभन्दा बढी हुन सक्ने बताउनुभएको छ। उहाँका अनुसार नेपालमा दुई हजार तीन सयभन्दा बढी हिमताल रहेको तथ्यांक सार्वजनिक भएको छ। हिउँ पहिरोले बगाएर ल्याएको माटो, ढुङ्गा र गेग्रानको सतहमा बन्ने यस्ता तालको संरचना दीर्घकालीन नहुन सक्ने भएकाले जुनसुकै बेला फुट्ने जोखिम रहन्छ।

इसिमोड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले सन् २०२० मा प्रकाशित गरेको अध्ययनमा नेपाल, तिब्बत र भारतमा गरी ४७ वटा हिमताललाई जोखिमका आधारमा खतराको सूचीमा राखिएको थियो। उक्त अध्ययनमा नेपालका २१, तिब्बतका २५ र भारतको एउटा हिमताल जोखिममा रहेको उल्लेख थियो। तर जलवायु परिवर्तनका कारण पछिल्ला वर्षमा हिमतालको अवस्था परिवर्तन भइरहेकाले पुरानो अध्ययनका आधारमा मात्र जोखिम मूल्यांकन गर्न नहुने विज्ञहरूको भनाइ छ। सबै जोखिमयुक्त तालको पछिल्लो अवस्था पहिचान गर्न थप वैज्ञानिक अध्ययन आवश्यक रहेको डा. खड्काले बताउनुभएको छ।

नेपालमा सबैभन्दा बढी जोखिम कोसी जलाधार क्षेत्रमा रहेको र त्यसमा पनि दुधकोशी क्षेत्रमा हिमतालको संख्या तथा जोखिम बढी रहेको बताइएको छ। साथै, पूर्वको अरुण, दुधकोशी, तामाकोशी र भोटेकोशीदेखि बुढीगण्डकी, मर्स्याङ्दी तथा हुम्ला कर्णालीसम्मका नदीका मुहान तिब्बतसँग जोडिएकाले तिब्बतमा रहेका जोखिमयुक्त हिमताल फुट्दा त्यसको प्रत्यक्ष असर नेपालमा पर्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन्। यसअघि भोटेकोशी क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याएको घटनाले पनि हिमताल तथा हिमाली क्षेत्रमा हुने आकस्मिक बाढीको जोखिमलाई थप गम्भीर बनाएको विज्ञहरूको भनाइ छ।

हिमताल अध्येता तथा जलवायु विज्ञहरूले जोखिम न्यूनीकरणका काम ढिला नगर्न सुझाव दिएका छन्। इम्जा र च्छो रोल्पा हिमतालमा जस्तै अन्य जोखिमयुक्त तालमा पनि चरणबद्ध रूपमा पानीको सतह व्यवस्थापन, संरचनागत जोखिम न्यूनीकरण तथा पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने उनीहरूको जोड छ। इम्जा हिमतालमा पानीको सतह घटाउने र तल्लो तटीय क्षेत्रमा पूर्वसूचना प्रणाली विकास गर्ने काम भइसकेको उदाहरण दिँदै विज्ञहरूले सम्भावित विपद्बाट हुने मानवीय तथा भौतिक क्षति कम गर्न जोखिम पहिचानसँगै पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

प्रतिक्रिया 0