अमेरिकामा डिजेलको मूल्य इतिहासमै पहिलोपटक प्रतिग्यालेन ६ डलर माथि

शुक्रबार, २६ भदौ २०८३, राति १०:०१


एजेन्सी । अमेरिकामा डिजेलको औसत खुद्रा मूल्य इतिहासमै पहिलोपटक प्रतिग्यालन ६ डलरभन्दा माथि पुगेको छ। सेप्टेम्बर ११ सम्म राष्ट्रिय औसत मूल्य ६.०६ डलर प्रतिग्यालन पुगेको हो। गत वर्षको तुलनामा यो करिब ६० प्रतिशतभन्दा बढी वृद्धि हो।

डिजेलको मूल्यमा आएको तीव्र वृद्धिको मुख्य कारण विश्व बजारमा इन्धन आपूर्तिमा देखिएको दबाब हो। अमेरिक–इरान द्वन्द्वका कारण हर्मुज जलडमरूमध्य हुँदै हुने तेल तथा इन्धनको आवागमन प्रभावित भएको छ भने युक्रेनी आक्रमणबाट रुसी रिफाइनरीमा क्षति पुगेपछि रुसले डिजेल निर्यातमा समेत प्रतिबन्ध लगाएको छ। यी घटनाले विश्व बजारमा डिजेलको आपूर्ति थप कसिलो बनाएका छन्।

अमेरिकाको डिजेल भण्डार पनि दबाबमा छ। सरकारी प्रक्षेपणअनुसार सेप्टेम्बरमा अमेरिकी डिजेल भण्डार २० वर्षभन्दा बढी समययताकै न्यून स्तरमा झर्न सक्ने र १० करोड ब्यारेलभन्दा तल पुग्ने अनुमान गरिएको छ। यही समयमा कृषि क्षेत्रमा कटाइको मौसम र यातायात क्षेत्रमा इन्धनको माग बढ्ने भएकाले आपूर्तिको दबाब थप गहिरिन सक्ने देखिएको छ।

डिजेल महँगिँदा यसको प्रभाव अमेरिकी उपभोक्तासम्म पुग्ने जोखिम उच्च छ। ट्रक, रेल, कृषि उपकरण, निर्माण क्षेत्र तथा मालवाहक जहाजमा डिजेलको व्यापक प्रयोग हुने भएकाले ढुवानी लागत बढ्दा खाद्यान्नदेखि दैनिक उपभोग्य वस्तुसम्मको मूल्यमा असर पर्न सक्छ। व्यवसायहरूले हालसम्म केही लागत आफैंले वहन गरे पनि मूल्य उच्च रहिरहेमा आगामी महिनाहरूमा त्यसको भार उपभोक्तामा सारिने अर्थविद्हरूको चेतावनी छ।

डिजेलको मूल्यवृद्धिले अमेरिकामा मुद्रास्फीति नियन्त्रणको चुनौतीसमेत थपिएको छ। अगस्टमा अमेरिकी मुद्रास्फीति वार्षिक ३.४ प्रतिशत पुगेको र ऊर्जा लागतले मूल्यवृद्धिमा थप दबाब दिएको छ। यस्तो अवस्थामा इन्धनको मूल्य अझै उच्च रहिरहे अमेरिकी केन्द्रीय बैंकका लागि ब्याजदरसम्बन्धी निर्णय पनि थप जटिल बन्न सक्ने देखिएको छ।

त्यसैगरी ऊर्जाको मूल्यमा आएको यस्तो वृद्धिले अन्य देशका केन्द्रीय बैंकहरूका लागि मुद्रास्फीति नियन्त्रण थप चुनौतीपूर्ण बनाउने जोखिम छ। एकातिर इन्धन महँगिँदा लागत–आधारित मुद्रास्फीति बढ्न सक्छ भने अर्कोतर्फ उच्च ब्याजदरमार्फत माग नियन्त्रण गर्ने नीतिले आर्थिक गतिविधिमा दबाब पार्न सक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन।

प्रतिक्रिया 0