ऊर्जा क्षेत्रमा लगानी बढाउँदै सामाजिक सुरक्षा कोष

Saturday, 06 June 2026, 07:18 PM
7 पटक हेरियो
Font Size: 20px

काठमाडौं । सामाजिक सुरक्षा कोषले ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्ने रणनीति अघि बढाएको छ। कोषले जलविद्युत् आयोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा अन्य नवीकरणीय ऊर्जा परियोजनामा कर्जा तथा सहवित्तीयकरणमार्फत लगानी बढाउने नीति लिएको जनाएको छ।

कोषका अनुसार अब २० मेगावाटभन्दा कम क्षमताका विद्युत् आयोजनामा भने लगानी गरिने छैन। त्यस्तै, विद्युत् खरिद सम्झौतामा (PPA) असहज शर्त रहेका, प्रसारण पूर्वाधार सुनिश्चित नभएका तथा सबस्टेसन निर्माणको स्पष्ट व्यवस्था नभएका आयोजनाहरू पनि लगानीका लागि अयोग्य मानिनेछन्।

कोषले कम्तीमा ३० प्रतिशत स्वपुँजी (इक्विटी) नभएका परियोजना, निजी कम्पनीबाट सञ्चालित केही परियोजना तथा आफ्नो प्राथमिकता सूचीबाहिरका आयोजनामा समेत लगानी नगर्ने स्पष्ट पारेको छ।

कोषका निर्देशक रोहित रेग्मीका अनुसार बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा मात्र रकम राख्दा राष्ट्रिय उत्पादन, रोजगारी सिर्जना तथा आर्थिक विकासमा अपेक्षित योगदान पुग्न नसक्ने भएकाले लगानी विविधीकरण आवश्यक भएको हो। सोही कारण ऊर्जा, पूर्वाधार तथा उत्पादनमूलक उद्योगहरूलाई प्राथमिकता दिइएको उनले बताएका छन्।

ऊर्जा क्षेत्रलाई आगामी दशकमा नेपालको आर्थिक रूपान्तरणको प्रमुख आधार मानिएको छ। सरकारले सन् २०३५ सम्म विद्युत् उत्पादन क्षमता २८ हजार ५०० मेगावाट पुर्‍याउने तथा यस क्षेत्रमा करिब ४६ अर्ब अमेरिकी डलर बराबर लगानी आवश्यक पर्ने प्रक्षेपण गरिसकेको छ। यस्तो अवस्थामा सामाजिक सुरक्षा कोषजस्ता संस्थागत लगानीकर्ताको सहभागिताले ऊर्जा परियोजनाको वित्तीय स्रोत व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

कोषमा हाल २३ हजारभन्दा बढी रोजगारदाता र करिब ३० लाख योगदानकर्ता आबद्ध छन्। संकलित रकम बढ्दै गएसँगै ऊर्जा, पूर्वाधार, सिमेन्ट तथा अन्य उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गरी योगदानकर्तालाई दीर्घकालीन प्रतिफल उपलब्ध गराउने रणनीतिमा कोष अघि बढिरहेको छ।

4 घण्टा अगाडि
7 पटक हेरियो

प्रतिक्रिया 0