काठमाडौं । जलवायु परिवर्तनको बढ्दो जोखिम न्यूनीकरण गर्न विश्वका करिब २०० देश सहभागी भएको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) ठोस सहमतिविना टुंगिएको छ। टर्कीको अन्ताल्यामा दुई साताभन्दा लामो समय चलेको सम्मेलनमा जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने, विकासशील देशलाई जलवायु वित्त उपलब्ध गराउने र विश्वव्यापी तापक्रम वृद्धिलाई नियन्त्रण गर्ने विषयमा देशहरूबीच गहिरो मतभेद देखिएको हो।
द गार्डियनको विश्लेषणअनुसार सम्मेलनले जलवायु संकट समाधानका लागि अन्तर्राष्ट्रिय सहमति अझै चुनौतीपूर्ण रहेको देखाएको छ। सम्मेलनबाट मुख्य राजनीतिक निर्णयमा सहमति जुट्न नसक्नुका साथै जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि आवश्यक वित्तीय स्रोत र ऊर्जा संक्रमणको विषय पनि विवादमै रह्यो।
जीवाश्म इन्धनको विषयमा जुटेन सहमति
सम्मेलनको सबैभन्दा पेचिलो विषय जीवाश्म इन्धन अर्थात् कोइला, पेट्रोलियम र प्राकृतिक ग्यासको प्रयोग घटाउने तथा त्यसबाट क्रमशः बाहिरिने विषय बन्यो। युरोपेली संघ, बेलायत, साना टापु राष्ट्र तथा विकासशील देशसहित करिब १३० देशले अन्तिम घोषणापत्रमा जीवाश्म इन्धनबाट संक्रमण गर्ने प्रतिबद्धता समावेश गर्न माग गरेका थिए।
तर साउदी अरेबियासहित केही देशले उक्त विषयलाई अन्तिम दस्तावेजमा समेट्न असहमति जनाएपछि सहमति जुट्न सकेन। अन्ततः जीवाश्म इन्धनबाट बाहिरिने विषय समेटिएको स्पष्ट निर्णय पारित हुन सकेन।
यसअघि सन् २०२३ मा दुबईमा सम्पन्न कोप–२८ मा विश्वका देशहरूले ऊर्जा प्रणालीमा जीवाश्म इन्धनबाट क्रमशः संक्रमण गर्ने प्रतिबद्धता जनाएका थिए। उक्त प्रतिबद्धता कायमै रहे पनि त्यसलाई कार्यान्वयन गर्ने थप स्पष्ट मार्गचित्रमा भने कोप–३१ ले सहमति जुटाउन सकेन।
जलवायु वित्तमा विकासशील देशको असन्तुष्टि
जलवायु परिवर्तनको असर सबैभन्दा बढी भोगिरहेका विकासशील तथा गरिब देशका लागि वित्तीय सहयोग अर्को महत्वपूर्ण विवादको विषय बन्यो। जलवायुजन्य विपद्, कृषि उत्पादनमा गिरावट, पूर्वाधार क्षति तथा अनुकूलनका कार्यक्रम सञ्चालन गर्न आवश्यक रकम उपलब्ध हुन नसकेको भन्दै विकासशील देशहरूले विकसित राष्ट्रसँग थप सहयोग माग गरेका थिए।
सन् २०२४ को कोप–२९ मा विकसित देशहरूले सन् २०३५ सम्म विकासशील देशलाई वार्षिक ३०० अर्ब अमेरिकी डलर जलवायु वित्त उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए। साथै, सार्वजनिक तथा निजी क्षेत्रबाट थप वित्त परिचालन गरी वार्षिक १.३ ट्रिलियन डलरसम्म पुर्याउने लक्ष्य अघि सारिएको थियो।
तर प्रतिबद्धताअनुसार रकम आवश्यक देशसम्म पुग्न नसकेको भन्दै विशेषगरी अफ्रिकी राष्ट्रहरूले असन्तुष्टि व्यक्त गरेका छन्। जलवायु अनुकूलनका लागि वित्तीय सहयोग तीन गुणासम्म बढाउने मागसमेत उठेको थियो।
विश्व तापक्रम १.५ डिग्रीको सीमाभन्दा माथि
औद्योगिक युग सुरु हुनुअघिको तुलनामा विश्वको औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि पुगेको विषयलाई पनि कोप–३१ मा पहिलोपटक औपचारिक रूपमा स्वीकार गर्दै त्यसबारे छलफल गरिएको छ।
जलवायु विज्ञानले तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्नुपर्ने आवश्यकता औँल्याउँदै आएको छ। तर पछिल्लो तापक्रम वृद्धिले उक्त लक्ष्य हासिल गर्न विश्वले थप कठिन चुनौती सामना गरिरहेको देखाएको छ।
तापक्रम वृद्धिले समुद्री सतह बढ्ने, कोरल रिफ नष्ट हुने, टापु तथा तटीय क्षेत्र जोखिममा पर्ने र वातावरणीय प्रणालीमा अपरिवर्तनीय क्षति पुग्ने सम्भावना बढाउँछ। यद्यपि तापक्रम १.५ डिग्रीभन्दा माथि जाने अवस्थालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा सम्मेलनले ठोस कार्ययोजना तय गर्न सकेन।
स्वच्छ ऊर्जा र विद्युतीकरणमा जोड
जीवाश्म इन्धनमाथिको निर्भरता घटाउन सौर्य तथा वायु ऊर्जाजस्ता नवीकरणीय ऊर्जाको विस्तारसँगै यातायात, उद्योग र घरायसी क्षेत्रमा विद्युतीकरण आवश्यक रहेको विषय सम्मेलनमा उठेको थियो।
विद्युतीय सवारीसाधन, विद्युतीय ताप प्रणाली तथा उद्योगमा स्वच्छ प्रविधिको प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिइएको थियो। सम्मेलनको अध्यक्षताले सन् २०३५ सम्म विश्वको कुल ऊर्जा उपयोगमा विद्युत्को हिस्सा ३५ प्रतिशत पुर्याउने प्रस्ताव अघि सारेको थियो। तर उक्त लक्ष्यमा औपचारिक सहमति जुट्न सकेन।
नेतृत्व र वार्ता प्रक्रियामै देखियो चुनौती
यसपटकको सम्मेलनमा टर्कीले आयोजकको भूमिका निर्वाह गरेको थियो भने अस्ट्रेलियाका जलवायु तथा ऊर्जा मन्त्री क्रिस बोवेनले वार्ताको अध्यक्षता गरेका थिए। दुई देशको संयुक्त नेतृत्वमा भएको सम्मेलनमा वार्ताको समन्वय, मस्यौदा तयार गर्ने गति र देशहरूबीच सहमति जुटाउने प्रक्रियामा चुनौती देखिएको गार्डियनको विश्लेषण छ।
करिब २०० देशबीच सहमति आवश्यक पर्ने संयुक्त राष्ट्रसंघीय जलवायु वार्ता प्रक्रियामा केही देशको असहमतिले समेत अन्तिम निर्णय प्रभावित हुन सक्छ। यसपटक जीवाश्म इन्धनको विषयमा देखिएको मतभेदले यही प्रक्रियाको सीमा उजागर गरेको छ।
अब कोप–३२ अघि सहमतिको चुनौती
कोप–३१ बाट जलवायु संकट समाधानका लागि आवश्यक मुख्य राजनीतिक सहमति ननिस्किए पनि स्वच्छ ऊर्जा संक्रमण, जलवायु वित्त र तापक्रम वृद्धिको जोखिमबारे अन्तर्राष्ट्रिय बहस थप स्पष्ट भएको छ। सम्मेलनमा केही अन्य विषयमा भने छुट्टाछुट्टै निर्णय भएका छन्।
तर जलवायु परिवर्तनको असर तीव्र बन्दै जाँदा प्रतिबद्धता र कार्यान्वयनबीचको दूरी घटाउनुपर्ने चुनौती कायमै छ। विशेषगरी जलवायु जोखिममा रहेका नेपालजस्ता विकासशील देशका लागि अनुकूलन, विपद् व्यवस्थापन र जलवायु वित्तमा अन्तर्राष्ट्रिय सहयोग सुनिश्चित गर्नु महत्वपूर्ण छ।
अब सन् २०२७ मा इथियोपियामा आयोजना हुने कोप–३२ अघि नै जीवाश्म इन्धन, जलवायु वित्त र विश्वव्यापी तापक्रम नियन्त्रणका विषयमा साझा सहमति खोज्नु अन्तर्राष्ट्रिय समुदायका लागि प्रमुख चुनौती बनेको छ।
No advertisements available
प्रतिक्रिया 0