काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि ३८४ जना आन्तरिक तथा बाह्य पर्यटक सम्पर्कविहीन रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ।
बोर्डले विभिन्न ट्राभल एजेन्सीबाट प्राप्त विवरण तथा गाइड, स्थानीय तह र सुरक्षा निकायसँगको समन्वयमा संकलित प्रारम्भिक तथ्यांकअनुसार सम्पर्कविहीन पर्यटकमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली रहेका छन्।
प्राप्त विवरणअनुसार सम्राट टुर्स एन्ड ट्राभल्सका ७१ जना, काठमाडौं होलिडेजका १७ जना, हिमालयन ग्लेसियरका ५२ जना र अल्पाइन इको ट्रेकका २० जना पर्यटक सम्पर्कविहीन छन्।
बाढीपछि रसुवाका विभिन्न क्षेत्रमा सडक तथा पुलमा क्षति पुग्दा आवतजावत र सञ्चार सम्पर्क प्रभावित भएको छ। यसका कारण प्रभावित क्षेत्रमा रहेका पर्यटकसँग तत्काल सम्पर्क स्थापित गर्न कठिनाइ भइरहेको बताइएको छ।
पर्यटन बोर्डले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले हाल त्यस्ता क्षेत्रमा यात्रा नगर्न पर्यटक तथा पर्यटन व्यवसायीलाई आग्रह गरेको छ।
बोर्डका अनुसार यो प्रारम्भिक विवरण भएकाले उद्धार, खोजी तथा सम्पर्क स्थापना हुँदै जाँदा सम्पर्कविहीन पर्यटकको संख्या घटबढ हुन सक्नेछ। प्रभावित क्षेत्रमा पर्यटकको अवस्थाबारे थप विवरण संकलन तथा प्रमाणीकरणको काम जारी रहेको छ।
No advertisements available
प्रतिक्रिया 0