गर्मी छल्न नेपाल रोज्दै भारतीय पर्यटक, पाँचतारे होटलको अकुपेन्सी ९० प्रतिशत सम्म

सोमबार, १५ असार २०८३, राति ८:००
Font Size: 20px

काठमाडौं। सामान्यतया पर्यटन क्षेत्रका लागि अफसिजन मानिने असार महिनामा पनि काठमाडौंका पाँचतारे होटलहरू भारतीय पर्यटकले भरिभराउ भएका छन्। भारतमा बढ्दो गर्मीबाट राहत खोज्दै नेपाल आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेपछि केही होटलको अकुपेन्सी ९० प्रतिशतसम्म पुगेको छ।

होटल व्यवसायीहरूका अनुसार यस वर्ष भारतीय बजार लक्षित प्रवर्द्धन, सहज हवाई सम्पर्क तथा नेपाललाई छोटो दूरीको आकर्षक गन्तव्यका रूपमा रोज्ने प्रवृत्तिका कारण अफसिजनमा समेत अपेक्षाभन्दा धेरै पर्यटक आएका छन्। विगतमा यही समयमा करिब ५० प्रतिशत हाराहारी रहने होटल अकुपेन्सी यसपालि उल्लेखनीय रूपमा बढेको व्यवसायीहरूको भनाइ छ।

मे महिनामा हवाई मार्गबाट नेपाल आएका १ लाख २ हजारभन्दा बढी पर्यटकमध्ये ४० हजारभन्दा बढी भारतीय रहेको तथ्यांकले पनि भारतीय पर्यटक आगमन तीव्र रूपमा बढिरहेको देखाउँछ। सडक मार्गबाट आउने भारतीय पर्यटकको संख्या समेत ठूलो भए पनि त्यसको आधिकारिक अभिलेख भने राखिने गरिएको छैन।

काठमाडौंसँगै पोखराका होटलहरूमा पनि भारतीय पर्यटकको उल्लेख्य चहलपहल देखिएको छ। पर्यटन व्यवसायीहरूका अनुसार भारतीय बजारको बढ्दो आकर्षणले अफसिजनमा समेत होटल उद्योगलाई चलायमान बनाएको छ भने आगामी पर्यटन सिजनप्रति व्यवसायीहरू थप आशावादी बनेका छन्। 

यद्यपि, तराईका अत्यधिक गर्मी हुने क्षेत्रका होटलहरूको अकुपेन्सी भने अपेक्षाकृत कम रहेको व्यवसायीहरूको भनाइ छ। चर्को तापक्रमका कारण पर्यटकहरू शीतल मौसम भएका पहाडी गन्तव्य रोजेकाले तराईका होटलहरूले छुट तथा विभिन्न प्याकेजमार्फत पाहुना आकर्षित गर्ने प्रयास गरिरहेका छन्।

प्रतिक्रिया 0