नयाँ दिल्ली । भारतको अग्रणी उद्योग तथा वाणिज्य संस्था फेडेरेसन अफ इन्डियन चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री (FICCI) ले २३ जुलाई २०२६ मा नयाँदिल्लीस्थित FICCI Federation House मा दोस्रो भारत ग्रीन हाइड्रोजन समिट २०२६ आयोजना गर्ने भएको छ। “Positioning India as a Global Hydrogen Hub” भन्ने मूल नारासहित आयोजना हुन लागेको सम्मेलनले भारतलाई हरित हाइड्रोजन उत्पादन, प्रविधि विकास तथा अन्तर्राष्ट्रिय बजार विस्तारको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।
समिटमा भारतको हरित हाइड्रोजन रूपान्तरणलाई तीव्र बनाउन आवश्यक नीतिगत तथा नियामकीय सुधार, परियोजना कार्यान्वयनमा देखिएका चुनौती, लगानी तथा पूर्वाधार विकासका विषयमा छलफल हुनेछ। साथै हरित हाइड्रोजन उत्पादन तथा वितरणसँग सम्बन्धित नवीन व्यवसायिक मोडेल, वित्तीय स्रोत व्यवस्थापन, अफटेक (Offtake) बजार सुनिश्चितता तथा आपूर्ति शृङ्खलाका चुनौतीहरूबारे उद्योग, सरकार र लगानीकर्ताबीच विचार–विमर्श हुने कार्यक्रम रहेको छ।
आयोजकका अनुसार सम्मेलनमा उन्नत प्रविधि, अनुसन्धान तथा विकास (R&D), स्वदेशी उत्पादन क्षमता तथा हरित ऊर्जा क्षेत्रमा भइरहेका नवीनतम आविष्कारहरू प्रस्तुत गरिनेछ। साथै अन्तर्राष्ट्रिय प्रविधि साझेदारी, हरित वित्त (Green Finance), सीप विकास तथा बजार विस्तारका अवसरहरूबारे पनि विशेष सत्र सञ्चालन गरिनेछन्। सम्मेलनले भारतको नेट–जिरो लक्ष्य प्राप्तिमा हरित हाइड्रोजनको भूमिकालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
समिटका प्रमुख उद्देश्यहरूमा भारतको हरित हाइड्रोजन संक्रमणबारे संवाद विस्तार गर्ने, ज्ञान आदानप्रदानलाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय साझेदारी निर्माण गर्ने तथा प्रविधि, वित्त र सीप विकासमार्फत ऊर्जा रूपान्तरणलाई गति दिने रहेका छन्। विश्वभर स्वच्छ ऊर्जाको माग बढिरहेका बेला भारतले हरित हाइड्रोजन क्षेत्रमा लगानी, उत्पादन र निर्यात क्षमतामा विस्तार गर्दै आफूलाई विश्वव्यापी ग्रीन हाइड्रोजन हब का रूपमा स्थापित गर्ने रणनीति अघि बढाएको छ।
प्रतिक्रिया 0