युरोप विश्वकै सबैभन्दा छिटो तातिरहेको महादेश

पूर्वाधार पनि गर्मीका लागि पूर्ण रूपमा तयार छैन

बिहीबार, २८ श्रावण २०८३, राति ८:१४
Font Size: 20px

काठमाडौं । युरोपमा पछिल्ला वर्षहरूमा देखिँदै आएका चरम गर्मीका घटनाले यो महादेश जलवायु परिवर्तनको सबैभन्दा तीव्र प्रभाव भोगिरहेका क्षेत्रमध्ये एक बनेको देखाएको छ। विश्व मौसम संगठन (WMO) र युरोपेली जलवायु अनुगमन निकायका अनुसार युरोप विश्वकै सबैभन्दा छिटो तातिरहेको महादेश हो।

जलवायु परिवर्तनका कारण युरोपमा औसत तापक्रम बढ्दै जाँदा अत्यधिक गर्मीका लहर (heatwave) पनि अझ बढी पटक, लामो समय र तीव्र रूपमा देखिन थालेका छन्। विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार युरोपेली क्षेत्रको तापक्रम विश्वव्यापी औसतको तुलनामा करिब दोब्बर गतिमा बढिरहेको छ।

सामान्य गर्मीभन्दा असामान्य वृद्धि मुख्य चिन्ता

युरोपमा ३५–४० डिग्री सेल्सियस तापक्रम पुग्नु मात्र अहिलेको मुख्य चिन्ता होइन। समस्या भनेको यस्तो तापक्रम लामो समयसम्म कायम रहनु र क्षेत्रको दीर्घकालीन औसतभन्दा अत्यधिक माथि जानु हो।

यसको उदाहरण सन् २०२६ को जुन महिनाले देखाएको छ। पश्चिमी युरोपमा जुन महिनाको औसत तापक्रम २०.७४ डिग्री सेल्सियस पुगेको थियो, जुन १९९१–२०२० को सामान्य औसतभन्दा ३.०५ डिग्री सेल्सियस बढी हो। यो पश्चिमी युरोपका लागि जुन महिनाको अहिलेसम्मकै उच्च औसत तापक्रम थियो।

त्यसपछि पनि गर्मीका लहर दोहोरिएका छन्। अगस्टमा युरोपका विभिन्न भागमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने अवस्था बनेको छ। स्पेनका केही क्षेत्रमा ४० डिग्रीभन्दा बढी तथा फ्रान्स र बेलायतका केही क्षेत्रमा ३८ डिग्री आसपास तापक्रम पुग्ने पूर्वानुमान गरिएको छ। करिब १३ करोड ५० लाख मानिस ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रमको जोखिममा रहेको रिपोर्ट गरिएको छ।

स्वास्थ्यदेखि अर्थतन्त्रसम्म असर

अत्यधिक गर्मीले युरोपको स्वास्थ्य प्रणालीमा दबाब बढाएको छ। लामो समयसम्म उच्च तापक्रम रहँदा वृद्धवृद्धा, बालबालिका, बाहिर काम गर्ने श्रमिक तथा दीर्घरोग भएका मानिस बढी जोखिममा पर्छन्। WHO ले युरोपमा Heatwave लाई बढ्दो सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा औँल्याउँदै आएको छ।

गर्मीको प्रभाव स्वास्थ्यमा मात्र सीमित छैन। सुख्खा र उच्च तापक्रमले वन डढेलोको जोखिम बढाउनुका साथै कृषि, पानीको उपलब्धता, यातायात र ऊर्जा उत्पादनमा समेत असर पारिरहेको छ।

फ्रान्समा यसपटकको Heatwave का कारण नदीको पानी अत्यधिक तातेपछि परमाणु ऊर्जा केन्द्रको cooling प्रणालीमा समेत समस्या देखिएको छ। यसका कारण शुक्रबार फ्रान्सको परमाणु विद्युत् उत्पादन क्षमतामा करिब १५ प्रतिशत कमी आउन सक्ने अनुमान गरिएको छ।

पूर्वाधार पनि गर्मीका लागि पूर्ण रूपमा तयार छैन

अत्यधिक गर्मीले युरोपको भौतिक पूर्वाधारमाथि समेत ठूलो दबाब सिर्जना गरिरहेको छ। युरोपका धेरै सडक, रेलमार्ग, भवन तथा ऊर्जा पूर्वाधार अहिले देखिएको जस्तो लामो समयसम्मको चरम तापक्रम सामना गर्ने गरी निर्माण नगरिएका कारण जोखिम बढेको हो। अत्यधिक तापक्रममा सडकको कालोपत्रे नरम भएर सडक बिग्रिन वा उक्किन सक्छ भने रेलको फलामे लिक तातेर फैलिँदा रेल सेवा प्रभावित हुन सक्छ।

गर्मी बढेसँगै वातानुकूलित उपकरण र चिस्याउने प्रणालीको प्रयोग बढ्दा विद्युत्को माग पनि उच्च हुन्छ। अझ महत्वपूर्ण रूपमा, फ्रान्सलगायतका देशमा परमाणु ऊर्जा केन्द्रका रिएक्टर चिस्याउन प्रयोग हुने नदीको पानी अत्यधिक तात्दा वा पानीको मात्रा घट्दा विद्युत् उत्पादन घटाउनुपर्ने अवस्था आएको छ। अहिलेको गर्मीका कारण फ्रान्सको परमाणु विद्युत् उत्पादन करिब १५ प्रतिशतसम्म प्रभावित हुन सक्ने अनुमान गरिएको छ। यसले युरोपको अत्यधिक गर्मी अब केवल मौसमसम्बन्धी समस्या नभई सडक, यातायात, ऊर्जा, पानी र भवनजस्ता आधारभूत पूर्वाधारको सहनशीलतामाथिको चुनौती बन्दै गएको देखाउँछ।

जलवायु परिवर्तनको स्पष्ट संकेत

WMO र Copernicus का अध्ययनहरूले युरोपमा बढ्दो तापक्रमलाई दीर्घकालीन जलवायु परिवर्तनको प्रवृत्तिसँग जोड्दै आएका छन्। लगातार र दोहोरिँदै आएका heatwave ले भविष्यमा यस्ता चरम गर्मीका घटना अझ सामान्य बन्न सक्ने संकेत दिएका छन्।

त्यसैले युरोपको वर्तमान गर्मीलाई औसत तापक्रमको तीव्र वृद्धि, बारम्बार दोहोरिने Heatwave र त्यसबाट स्वास्थ्य, ऊर्जा, कृषि तथा अर्थतन्त्रमा बढ्दै गएको जोखिम हो।

युरोपको अनुभवले जलवायु परिवर्तनको प्रभाव भविष्यको मात्र विषय नभई अहिले नै जनजीवन र आर्थिक प्रणालीमा प्रत्यक्ष असर पारिरहेको देखाएको छ।

प्रतिक्रिया 0