अर्थतन्त्रको ११ महिनाको अवस्था

सोमबार, २९ असार २०८३, बेलुका ७:३६
Font Size: 20px

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनाको समष्टिगत आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनले नेपालको अर्थतन्त्रमा सुधारका स्पष्ट संकेत देखिएको जनाएको छ। प्रतिवेदनअनुसार मुद्रास्फीति नियन्त्रणमा रहनुका साथै विदेशी मुद्रा सञ्चिति, विप्रेषण (रेमिट्यान्स), शोधनान्तर स्थिति, बैंकिङ निक्षेप तथा कर्जालगायत अधिकांश आर्थिक सूचक सकारात्मक दिशामा अघि बढेका छन्।

प्रतिवेदनअनुसार जेठ महिनासम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत कायम रहेको छ भने आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनाको औसत मुद्रास्फीति २.९८ प्रतिशत रहेको छ। यसले मूल्यवृद्धि अपेक्षाकृत नियन्त्रणमै रहेको संकेत गरेको छ।

बाह्य क्षेत्रतर्फ नेपालको अवस्था थप मजबुत बनेको देखिएको छ। कुल विदेशी विनिमय सञ्चिति ३७ खर्ब ५ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ भने अमेरिकी डलरमा यस्तो सञ्चिति २४ अर्ब ६८ करोड बराबर रहेको छ। यो सञ्चितिले १९.१ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता राख्ने राष्ट्र बैंकले जनाएको छ, जुन नेपालको बाह्य क्षेत्र निकै सुदृढ रहेको संकेत हो।

त्यसैगरी, चालु खाता ८०२ अर्ब ६ करोड रुपैयाँ र शोधनान्तर स्थिति ९२६ अर्ब ६ करोड रुपैयाँ बचतमा रहेको छ। बाह्य क्षेत्रका यी दुवै सूचक बचतमा रहनु अर्थतन्त्रका लागि सकारात्मक मानिएको छ।

विदेशबाट भित्रिने विप्रेषण आप्रवाह पनि उल्लेखनीय रूपमा बढेको छ। समीक्षा अवधिमा नेपाली रुपैयाँमा विप्रेषण ३८.२ प्रतिशत तथा अमेरिकी डलरमा २९.६ प्रतिशतले वृद्धि भई २३ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ। रेमिट्यान्समा भएको उच्च वृद्धिले विदेशी मुद्रा सञ्चिति बढाउन तथा बैंकिङ प्रणालीमा तरलता कायम राख्न महत्वपूर्ण योगदान दिएको देखिन्छ।

बाह्य व्यापारतर्फ निर्यात १२.३ प्रतिशत र आयात १५.२ प्रतिशतले बढेको छ। निर्यात वृद्धि सकारात्मक भए पनि आयातको वृद्धि दर अझै उच्च रहेकाले व्यापार घाटा व्यवस्थापनमा थप प्रयास आवश्यक देखिन्छ।

सरकारी वित्ततर्फ समीक्षा अवधिमा नेपाल सरकारको कुल खर्च १,३४६ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ भने राजस्व परिचालन १,०८१ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। यसले सरकारी खर्च अझै राजस्वभन्दा बढी रहेको देखाएको छ।

मौद्रिक अवस्थातर्फ विस्तृत मुद्राप्रदाय ५.८ प्रतिशतले विस्तार भएको छ भने वार्षिक बिन्दुगत आधारमा यसको वृद्धि १४.२ प्रतिशत रहेको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप १०.३ प्रतिशत तथा निजी क्षेत्रमा प्रवाहित कर्जा ६.२ प्रतिशतले बढेको छ। वार्षिक आधारमा निक्षेपको वृद्धि १५ प्रतिशत पुगे पनि कर्जाको वृद्धि ६.५ प्रतिशत मात्र रहेको छ। यसले बैंकिङ प्रणालीमा निक्षेप राम्रोसँग बढे पनि कर्जा माग अझै पूर्ण रूपमा पुनरुत्थान हुन नसकेको संकेत गर्छ।

प्रतिक्रिया 0