हर्मुज संकटले खाद्य आपूर्ति शृंखलामा दबाब

खाद्य सुरक्षा खेतमा हुने उत्पादनमा मात्र निर्भर छैन

बुधबार, २४ भदौ २०८३, दिउँसो १२:०५

काठमाडौं । हर्मुज जलडमरूमध्यमा भएको अवरोधले विश्वको खाद्य सुरक्षा खेतमा उत्पादन हुने खाद्यान्नको मात्र विषय नभएको देखाएको छ। ऊर्जा, मल, इन्धन, ढुवानी, वित्तीय प्रणाली, व्यापारिक मार्ग र भू–राजनीतिक अवस्थाबीचको गहिरो अन्तरसम्बन्धका कारण एउटा क्षेत्रमा उत्पन्न हुने संकटले विश्वका विभिन्न मुलुकको खाद्य आपूर्ति र मूल्य प्रणालीलाई प्रभावित गर्न सक्ने विश्व आर्थिक मञ्चको पछिल्लो विश्लेषणले देखाएको छ। 

हर्मुज संकटको तत्कालीन प्रभाव ऊर्जा क्षेत्रमा परेको भए पनि यसको असर खाद्य उत्पादनसम्म पुग्ने देखिएको छ। इन्धनको मूल्य बढ्दा किसानले प्रयोग गर्ने डिजेल, कृषि मेसिनरी, सिँचाइ प्रणाली तथा खेतबाट बजारसम्म खाद्यान्न ढुवानीको लागत बढ्छ। यसले उत्पादन र आपूर्ति दुवै महँगो बनाउने जोखिम हुन्छ। अझ महत्वपूर्ण कुरा, कृषि उत्पादनका लागि अत्यावश्यक रासायनिक मलको आपूर्ति पनि ऊर्जा बजारसँग प्रत्यक्ष जोडिएको छ।

प्राकृतिक ग्यास अमोनिया र युरिया उत्पादनका लागि आवश्यक प्रमुख स्रोत हो। अमोनिया नाइट्रोजन मलको आधारभूत तत्व हो भने तेल तथा ग्यास प्रशोधनबाट निस्कने सल्फर फस्फेटजन्य मल उत्पादनमा प्रयोग हुन्छ। त्यसैले ऊर्जा आपूर्तिमा आएको अवरोधले इन्धन मात्र होइन, नाइट्रोजन र फस्फोरसमा आधारित मलको उत्पादन तथा मूल्यमा समेत असर पार्न सक्छ। डब्ल्यूईएफका अनुसार पछिल्ला महिनामा नाइट्रोजन र फस्फोरससँग सम्बन्धित मलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। 

मलको मूल्य वृद्धि किसानका लागि ठूलो चुनौती बन्न सक्छ। डब्ल्यूईएफका अनुसार मलले किसानको कुल उत्पादन लागतको करिब एकतिहाइ हिस्सा ओगट्छ। त्यसमा डिजेल र ढुवानी खर्च वृद्धि तथा मौसमसम्बन्धी अनिश्चितता थपिँदा किसानको नाफा तीव्र रूपमा घट्न सक्छ। यस्तो अवस्थामा किसानले कुन बाली लगाउने, कति क्षेत्रफलमा लगाउने र कति मल प्रयोग गर्ने भन्ने निर्णय परिवर्तन गर्न सक्छन्। 

यसको असर सबै बालीमा समान हुँदैन। मकै उच्च मात्रामा नाइट्रोजन मलमा निर्भर हुने, यान्त्रिकीकरणमा आधारित र तापक्रम तथा पानीको अभावप्रति संवेदनशील भएकाले बढी जोखिममा रहेको विश्लेषणमा उल्लेख छ। गहुँ पनि मलमा संवेदनशील छ, तर यसको विकल्पका रूपमा अर्को बालीतर्फ ठूलो मात्रामा स्थानान्तरण गर्न किसानलाई सीमितता हुन्छ। धान पनि नाइट्रोजन मलमा निर्भर हुने भएकाले मलको अभावसँगै खडेरी वा अत्यधिक वर्षा भए उत्पादन घट्ने जोखिम हुन्छ। 

यसैबीच, मौसमसम्बन्धी जोखिमले खाद्य संकटलाई अझ गम्भीर बनाउन सक्छ। वैज्ञानिकहरूले यस वर्षको एल निनो बलियो हुन सक्ने अनुमान गरेका छन्। बलियो एल निनोले विश्वका विभिन्न क्षेत्रमा तापक्रम र वर्षाको स्वरूपमा ठूलो परिवर्तन ल्याउन सक्छ, जसबाट खडेरी र अत्यधिक वर्षाको जोखिम बढ्न सक्छ। मल तथा इन्धनको संकटसँगै यस्तो मौसमजन्य जोखिम थपिँदा प्रमुख खाद्यान्न उत्पादन क्षेत्रमा उत्पादन घट्ने सम्भावना बढ्छ।

खाद्य प्रणालीमा संकटको असर तत्कालै बजारमा देखिँदैन भन्ने पक्ष पनि महत्वपूर्ण छ। ग्यास उत्पादनदेखि मल कारखाना, ढुवानी, भण्डारण, किसानको रोपाइँ र अन्ततः बाली कटानीसम्म लामो समय लाग्छ। त्यसैले अहिले सुरु भएको मल वा इन्धन आपूर्ति अवरोधको वास्तविक प्रभाव केही महिनापछि उत्पादन र बजारमा देखिन सक्छ। डब्ल्यूईएफका अनुसार मल आपूर्तिमा अवरोध थप लम्बिएमा गहुँ, धान र मकैको आगामी उत्पादन चक्रमा समेत असर पर्न सक्छ। 

यसको सबैभन्दा ठूलो असर खाद्यान्न आयातमा निर्भर मुलुकले भोग्नुपर्ने जोखिम छ। प्रमुख उत्पादक मुलुकमा उत्पादन घटेमा वा ती देशले आफ्नो घरेलु बजार सुरक्षित गर्न खाद्यान्न निर्यातमा प्रतिबन्ध लगाएमा आयातमा निर्भर दक्षिण एसिया, दक्षिणपूर्वी एसिया र अफ्रिकी मुलुकमा आपूर्ति थप महँगो हुन सक्छ। यसले खाद्यान्नको मूल्य बढाउनुका साथै न्यून आय भएका उपभोक्तामाथि थप दबाब पार्न सक्छ। 

यसअघि पनि हर्मुज क्षेत्रमा देखिएको अवरोधले मल बजारमा प्रत्यक्ष दबाब सिर्जना गरेको डब्ल्यूईएफकै अर्को विश्लेषणले उल्लेख गरेको छ। त्यसअनुसार विश्वको खाद्य उत्पादनको ठूलो हिस्सा नाइट्रोजन मलमा निर्भर छ र हर्मुज हुँदै हुने मल व्यापारमा अवरोध आएपछि युरियाको मूल्यसमेत तीव्र रूपमा बढेको थियो। प्रमुख निर्यातकर्ताले घरेलु आपूर्ति जोगाउन निर्यात नियन्त्रण गर्दा विश्व बजारमा आपूर्ति थप कडा बन्न सक्ने जोखिम देखिएको थियो। 

यस्तो अवस्थामा खाद्य सुरक्षाको अर्थ केवल पर्याप्त खाद्यान्न उत्पादन गर्नुमा सीमित नरहने देखिएको छ। किसानलाई मल उपलब्ध गराउनेदेखि ऊर्जा र ढुवानीको व्यवस्था, पर्याप्त भण्डारण, वैकल्पिक आपूर्ति मार्ग र आयात स्रोतको विविधीकरणसम्म समग्र प्रणालीलाई बलियो बनाउनुपर्ने हुन्छ। खाद्य कम्पनी र किसानले एउटै आपूर्तिकर्ता वा एउटै व्यापारिक मार्गमा अत्यधिक निर्भर हुनुभन्दा वैकल्पिक स्रोत तयार राख्नुपर्ने आवश्यकता बढेको छ। 

खाद्य प्रणालीको लचकता नै आगामी दिनको प्रतिस्पर्धात्मक क्षमता बन्ने निष्कर्ष निकालेको छ। यसको अर्थ संकट आउँदा स्रोतको प्रवाह रोकिए पनि वैकल्पिक बाटोबाट आवश्यक सामग्री परिचालन गर्न सक्ने, परिस्थितिअनुसार छिटो निर्णय लिन सक्ने र आपूर्ति निरन्तर राख्न सक्ने क्षमता हो। त्यसका लागि मल तथा खाद्यान्न आपूर्तिकर्ताको विविधीकरण, आपूर्ति शृंखलामा सूचना आदानप्रदान, भण्डारण व्यवस्थापन र सम्भावित संकटका विभिन्न परिदृश्यको पूर्वयोजना आवश्यक हुने छ। 

अर्थात्, अब खाद्य सुरक्षाको प्रश्न ‘खाना उत्पादन गर्न पर्याप्त स्रोत छ कि छैन?’ भन्नेमा मात्र सीमित छैन। बजारमा संकट आउँदा ती स्रोतलाई कसले सुरक्षित गर्न सक्छ, वैकल्पिक मार्गबाट कसरी परिचालन गर्न सक्छ र आपूर्ति कसरी निरन्तर राख्न सक्छ भन्ने क्षमता झन् महत्वपूर्ण बन्न थालेको छ। बढ्दो भू–राजनीतिक तनाव, ऊर्जा संकट, जलवायु परिवर्तन र आपूर्ति शृंखलाका अवरोधबीच छिटो अनुकूलन गर्न सक्ने क्षमता नै खाद्य सुरक्षाको नयाँ आधार बन्ने देखिएको छ। 

प्रतिक्रिया 0