नेपालको कृषि क्षेत्रलाई आवश्यक रासायनिक मलमा रहेको आयात निर्भरता घटाउन हरित हाइड्रोजनमा आधारित युरिया उत्पादन महत्वपूर्ण विकल्प बन्न सक्ने देखिएको छ।
डा. बिराज सिह थापा को पुस्तक 'नेपालमा हरित हाइड्रोजन: गहिरो कार्बन न्यूनीकरण र औद्योगिक रूपान्तरणका रणनीतिक मार्गहरू' मा जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जाबाट उत्पादन हुने हरित हाइड्रोजनलाई अमोनिया र युरिया उत्पादनमा प्रयोग गर्ने अवधारणालाई नेपालका लागि रणनीतिक अवसरका रूपमा प्रस्तुत गरेको छ।
नेपालमा किसानले समयमै मल नपाउने समस्या पटक–पटक देखिँदै आएको छ। अन्तर्राष्ट्रिय बजार, आपूर्ति शृंखला तथा विदेशी मुद्रासँग जोडिएको आयातमा निर्भर मल प्रणालीले कृषि उत्पादनलाई जोखिममा पार्न सक्छ।
यस्तो अवस्थामा स्वदेशमै हरित युरिया उत्पादन गर्न सके मल आपूर्ति थप स्थिर बनाउन, आयात खर्च तथा विदेशी मुद्रा बाहिरिने क्रम घटाउन र कृषि उत्पादनलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउन सहयोग पुग्न सक्छ।
हरित युरिया उत्पादनको आधार हरित हाइड्रोजन हो। नवीकरणीय विद्युत्को प्रयोग गरी पानीलाई इलेक्ट्रोलाइसिस गर्दा हाइड्रोजन उत्पादन हुन्छ। त्यसपछि हावाबाट प्राप्त नाइट्रोजनसँग हाइड्रोजनलाई संयोजन गरी अमोनिया बनाइन्छ। अमोनिया र कार्बन डाइअक्साइडको प्रयोगबाट युरिया उत्पादन गर्न सकिन्छ।
यस प्रक्रियाले ऊर्जा र कृषिलाई एउटै औद्योगिक शृंखलामा जोड्ने सम्भावना सिर्जना गर्छ। नेपालले आफ्नो जलविद्युत्को प्रयोग गरी ऊर्जा उत्पादन मात्र नभई त्यही ऊर्जाबाट कृषि उत्पादनका लागि आवश्यक औद्योगिक सामग्रीसमेत उत्पादन गर्न सक्छ।
अध्ययनले सिमेन्ट उद्योग र युरिया उद्योगलाई जोड्ने अर्को महत्वपूर्ण अवधारणा प्रस्तुत गरेको छ। सिमेन्ट उत्पादनबाट निस्कने कार्बन डाइअक्साइडलाई Capture गरेर युरिया उत्पादनमा प्रयोग गर्न सके उत्सर्जन घटाउने र औद्योगिक कच्चा पदार्थको उपयोग गर्ने दोहोरो लाभ लिन सकिन्छ।
यसले नेपालको वातावरणीय लक्ष्यमा समेत योगदान पुर्याउन सक्छ। पेट्रोलियम तथा जीवाश्म इन्धनमा आधारित ऊर्जा र औद्योगिक प्रक्रियाको स्थानमा नवीकरणीय ऊर्जामा आधारित प्रविधि प्रयोग बढेमा दीर्घकालमा कार्बन उत्सर्जन घटाउन सहयोग पुग्नेछ।
यद्यपि हरित हाइड्रोजनलाई स्वतः ‘पूर्ण रूपमा वातावरणमैत्री’ मान्न नहुने अध्ययनको समग्र विश्लेषणबाट देखिन्छ। परियोजनाले पानी कहाँबाट लिन्छ, कति पानी प्रयोग गर्छ, कस्तो भूमि प्रयोग हुन्छ, स्थानीय समुदायमा कस्तो प्रभाव पर्छ र अमोनिया तथा अन्य रसायनको सुरक्षा कसरी व्यवस्थापन हुन्छ भन्ने विषय पनि महत्वपूर्ण हुन्छ।
त्यसैले हरित हाइड्रोजन परियोजनामा वातावरणीय प्रभाव मूल्यांकन, पानीको दिगो व्यवस्थापन, जैविक विविधताको संरक्षण, श्रमिक सुरक्षा तथा स्थानीय समुदायको सहभागिता अनिवार्य हुनुपर्ने देखिन्छ।
नेपालका लागि यसको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको ऊर्जा, कृषि र वातावरणलाई एउटै विकास रणनीतिमा जोड्नु हो। जलविद्युतको अतिरिक्त ऊर्जा उपयोग गर्दै स्वदेशमै मल उत्पादन गर्न सकिए खाद्य सुरक्षा बलियो बनाउन, विदेशी मुद्रा बचत गर्न र कम–कार्बन औद्योगिक विकासलाई अघि बढाउन सकिने सम्भावना छ।
यस अर्थमा हरित हाइड्रोजन नेपालको लागि केवल नयाँ इन्धनको विकल्प नभई ‘जलविद्युत् → हरित हाइड्रोजन → अमोनिया → युरिया → कृषि उत्पादन’ जोड्ने नयाँ आर्थिक तथा खाद्य सुरक्षा शृंखला बन्न सक्ने देखिन्छ।
प्रतिक्रिया 0