भोटेकोशी विपद् जलवायु संकटको संकेत : प्रधानमन्त्री शाह

मंगलबार, १६ भदौ २०८३, दिउँसो १२:५४

प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीलाई सामान्य बाढी नभएको बताएका छन्। उनले यो घटना हिमालय क्षेत्रमा हिउँ चुचुरोबाट आएको हिमपहिरोका कारण सिर्जित क्षेत्रकै ठूलो विपद् भएको उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत भोटेकोशीमा आएको बाढीले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै जोखिम निकै बढ्दै गएको संकेत गरेको बताएका हुन्।

उनले हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण देखापरिरहेका जोखिमप्रति सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिएका छन्। साथै, यस्तो विपद्बारे अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा आवाज उठाउनुपर्ने समय आएको पनि उनले बताएका छन्।

प्रधानमन्त्री शाहका अनुसार भोटेकोशीमा आएको बाढीलाई केवल एउटा स्थानीय प्राकृतिक विपत्तिका रूपमा मात्र हेर्न नहुने अवस्था छ। हिमाली क्षेत्रमा जलवायु परिवर्तनका प्रभावसँगै यस्ता जोखिम बढ्दै गएकाले यसको दीर्घकालीन असर र समाधानका विषयमा अन्तर्राष्ट्रिय तहमा समेत गम्भीर छलफल आवश्यक रहेको उनको भनाइ छ।

उनले “हिमालय क्षेत्रको ठूलो विपद्” का रूपमा उल्लेख गर्दै यस घटनाले हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिमबारे गम्भीर संकेत गरेको बताएका छन्।

प्रतिक्रिया 0