बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा ७ दिन थप

सोमबार, १५ भदौ २०८३, बिहान ११:५४

काठमाडौं । एनसेलले बाढी प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप ७ दिनका लागि विस्तार गरेको छ। सञ्चार सम्पर्क सहज बनाउँदै खोज तथा उद्धार र राहत वितरणमा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले निःशुल्क सेवाको अवधि बढाएको जनाएको छ। 

यसअघि रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा एनसेलले तीन दिनका लागि निःशुल्क डेटा, अल-नेट भ्वाइस र १०० वटा एसएमएस उपलब्ध गराएको थियो। उक्त अवधि सकिन लागेपछि कम्पनीले प्रभावित क्षेत्रमा थप एक सातासम्म यी सेवा निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो। 

एनसेलका अनुसार विपद्को समयमा सञ्चार सेवा प्रभावित नागरिकलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन, साथै खोज, उद्धार र राहतमा खटिएका निकायबीच समन्वय गर्न महत्वपूर्ण हुन्छ। यसैलाई ध्यानमा राख्दै सेवा विस्तार गरिएको हो। बाढीका कारण अवरुद्ध भएका १८ वटा मोबाइल टावर पुनः सञ्चालनमा ल्याइएको र थप ९ वटा टावर सञ्चालनका लागि काम भइरहेको कम्पनीले जनाएको छ। 

यसअघि एनसेल फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग समेत उपलब्ध गराइएको थियो।

प्रतिक्रिया 0