क्यानडासँग तनावबीच ट्रम्पले बदले लेक ओन्टारियोको नाम

शुक्रबार, १२ भदौ २०८३, बेलुका ५:४३

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र अमेरिकाबीच रहेको लेक ओन्टारियोलाई ‘लेक अमेरिका’ नामकरण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। ट्रम्पले बिहीबार हस्ताक्षर गरेको आदेश तत्काल लागू हुने बताएका छन्। आदेशअनुसार अमेरिकी आन्तरिक मामिला मन्त्रालय र मन्त्री डग बर्गमलाई सरकारी अभिलेख तथा आधिकारिक नक्सामा नाम परिवर्तन गर्ने प्रक्रिया अघि बढाउन निर्देशन दिइएको रोयटर्सले जनाएको छ। 

सालेक ओन्टारियो अमेरिका र क्यानडाबीचको सीमामा रहेको महत्वपूर्ण जलाशय हो। तर अमेरिकी सरकारले गरेको यो नाम परिवर्तन अमेरिकी संघीय प्रयोगमा मात्र लागू हुने र क्यानडाको आधिकारिक नाममा स्वतः परिवर्तन नहुने बताइएको छ। क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले तालको नाम ‘लेक ओन्टारियो’ नै रहने बताएका छन्। उनका अनुसार यो नाम ४०० वर्षभन्दा पुरानो हो र क्यानडा तथा अमेरिकाको आधुनिक राष्ट्र निर्माणभन्दा पनि अघिदेखि प्रयोग हुँदै आएको छ। 

ट्रम्पको यो निर्णय अमेरिका–क्यानडा व्यापार तनाव बढिरहेका बेला आएको हो। हालै दुई देशबीचको व्यापार वार्ता असफल भएपछि अमेरिका र क्यानडाले एकअर्काविरुद्ध थप कर तथा व्यापारिक कदम अघि बढाएका छन्। ट्रम्पले क्यानडासँगको व्यापार सम्बन्धप्रति असन्तुष्टि जनाउँदै नाम परिवर्तनलाई पनि आफ्नो प्रशासनको अमेरिकी हितलाई प्राथमिकता दिने नीतिसँग जोड्दै आएका छन्। 

यो ट्रम्प प्रशासनले भौगोलिक नाम परिवर्तन गरेको पहिलो घटना भने होइन। यसअघि सन् २०२५ मा ट्रम्पले मेक्सिकोको खाडीलाई ‘गल्फ अफ अमेरिका’ नामकरण गर्ने कार्यकारी आदेश जारी गरेका थिए। नयाँ निर्णयले भने क्यानडासँगको विवादका कारण थप राजनीतिक र कूटनीतिक बहस निम्त्याएको छ।

प्रतिक्रिया 0