हाम्रो बैंकिङ । टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (COP31) बीच जलवायु न्यायको माग गर्दै हजारौँ मानिस सडकमा उत्रिएका छन्। जलवायु परिवर्तनको असर सबैभन्दा बढी भोगिरहेका समुदायको आवाजलाई अन्तर्राष्ट्रिय वार्तामा पर्याप्त स्थान नदिइएको भन्दै शनिबार प्रदर्शन गरिएको हो।
प्रदर्शनमा वातावरण संरक्षणकर्मी, श्रमिक संगठन तथा अधिकारवादी समूहहरूको सहभागिता थियो। प्रहरीका अनुसार प्रदर्शनमा ७ हजारभन्दा बढी मानिस सहभागी भएका थिए। उनीहरूले जीवाश्म इन्धनको प्रयोग घटाउन, कोइला खानी तथा नयाँ जीवाश्म इन्धन आयोजना विस्तार रोक्न र जलवायु संकटबाट प्रभावित गरिब तथा विकासशील देशलाई थप आर्थिक सहयोग उपलब्ध गराउन माग गरेका छन्।
प्रदर्शनकारीहरूले जलवायु संकटको जिम्मेवारी र त्यसको असर समान रूपमा बाँडिएको छैन भन्दै धनी तथा विकसित देशहरूले बढी जिम्मेवारी लिनुपर्ने बताएका छन्। जलवायु परिवर्तनमा कम योगदान भए पनि विकासशील तथा कमजोर अर्थतन्त्र भएका देशहरूले यसको गम्भीर परिणाम भोगिरहेको उनीहरूको भनाइ छ।
सम्मेलनको मध्यबिन्दुमा पुग्दा पनि विकसित तथा विकासशील देशहरूबीच जलवायु अनुकूलनका लागि आवश्यक वित्तीय सहयोग, जलवायु विज्ञानको संरक्षण र जीवाश्म इन्धनबाट स्वच्छ ऊर्जातर्फको संक्रमणजस्ता विषयमा सहमति जुट्न सकेको छैन। करिब २०० देशका प्रतिनिधिहरू आगामी नोभेम्बर २० सम्म सहमति खोज्ने प्रयासमा छन्।
यसैबीच, पाकिस्तानका संसदीय प्रतिनिधिले जलवायु जोखिममा रहेका तथा ऋणको दबाब झेलिरहेका देशका लागि जलवायु वित्तलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले जलवायु अनुकूलनलाई खर्च नभई भविष्यको क्षति घटाउने लगानीका रूपमा लिनुपर्नेमा जोड दिएका छन्। जलवायुमैत्री कृषि, पानी व्यवस्थापन, पूर्वसूचना प्रणाली र विपद् प्रतिरोधी पूर्वाधारमा लगानी बढाउनुपर्ने उनको भनाइ छ।
उनले जलवायु वित्तका लागि ऋण पुनर्संरचना, सहुलियतपूर्ण वित्तीय सहायता तथा ऋणलाई जलवायु लगानीसँग जोड्ने व्यवस्था आवश्यक रहेको पनि बताएका छन्।
जलवायु संकटको असर बढ्दै जाँदा COP31 मा भइरहेको प्रदर्शनले जलवायु न्याय, वित्तीय उत्तरदायित्व र जीवाश्म इन्धनबाट ऊर्जा संक्रमणको विषयलाई थप बहसमा ल्याएको छ।
No advertisements available
प्रतिक्रिया 0