वालमार्टमा २१ लाख, अमेजनमा १६ लाख, बीवाईडीमा ९ लाख कर्मचारी
विश्वका ठूला कम्पनीमध्ये कर्मचारी संख्याका आधारमा वालमार्ट, अमेजन र बीवाईडी शीर्ष तीनमा देखिएका छन्। उपलब्ध पछिल्लो तथ्यांकअनुसार अमेरिकी खुद्रा कम्पनी वालमार्ट करिब २१ लाख कर्मचारीसहित विश्वकै सबैभन्दा ठूलो रोजगारदाता बनेको छ। त्यसपछि अमेजन करिब १५ लाख ७५ हजार र चीनको विद्युतीय सवारीसाधन तथा ब्याट्री निर्माता बीवाईडी करिब ८ लाख ६९ हजार ६२२ कर्मचारीसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
वालमार्टको कर्मचारी संख्या दोस्रो स्थानमा रहेको अमेजनभन्दा करिब ५ लाख २५ हजार बढी छ। विश्वभर खुद्रा पसल, सप्लाई चेन, वितरण तथा अन्य व्यवसाय सञ्चालन गर्ने भएकाले वालमार्टको रोजगारीको आकार निकै ठूलो देखिएको हो।
त्यस्तै, अमेजनको कर्मचारी संख्या १५ लाख ७५ हजार पुगेको छ। ई–कमर्ससँगै क्लाउड सेवा, लजिस्टिक्स, गोदाम तथा डेलिभरी नेटवर्क विस्तार गरेको अमेजन विश्वकै प्रमुख रोजगारदातामध्ये दोस्रो स्थानमा देखिएको छ।
तेस्रो स्थानमा रहेको बीवाईडी भने विद्युतीय सवारीसाधन तथा ब्याट्री उद्योगको तीव्र विस्तारसँगै ठूलो रोजगारदाता बनेको देखिन्छ। कम्पनीमा करिब ८ लाख ७० हजार कर्मचारी छन्। यसले विद्युतीय सवारीसाधनको बढ्दो बजारसँगै उत्पादन, ब्याट्री, प्रविधि र आपूर्ति शृंखलामा रोजगारीको विस्तार भइरहेको संकेत गर्छ।
शीर्ष तीनपछि ताइवानको होन हाई प्रिसिजन इन्डस्ट्री (फक्सकन) करिब ८ लाख २६ हजार कर्मचारीसहित चौथो स्थानमा छ। इलेक्ट्रोनिक्स उत्पादन क्षेत्रमा विश्वकै ठूलो कम्पनीमध्ये एक फक्सकनले विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका लागि उत्पादन तथा एसेम्बली गर्दै आएको छ।
आयरल्यान्डमा आधारित सूचना प्रविधि तथा परामर्श कम्पनी एक्सेन्चर करिब ७ लाख ७९ हजार कर्मचारीसहित पाँचौँ स्थानमा छ। यसले प्रविधि तथा आईटी सेवा क्षेत्रमा पनि ठूलो संख्यामा रोजगारी सिर्जना भएको देखाउँछ।
चीनको जेडी डटकम करिब ७ लाख ७७ हजार कर्मचारीसहित छैटौँ र जेडी लजिस्टिक्स करिब ६ लाख ८३ हजार कर्मचारीसहित सातौँ स्थानमा छन्। जर्मनीको फक्सवागन करिब ५ लाख ९९ हजार कर्मचारीसहित आठौँ स्थानमा छ।
लजिस्टिक्स र खुद्रा क्षेत्र
शीर्ष २० को सूचीमा लजिस्टिक्स तथा खुद्रा क्षेत्रका कम्पनीहरूको उपस्थिति उल्लेखनीय छ। डीएचएल/डोयचे पोस्ट समूहमा करिब ५ लाख ७९ हजार, बेलायतको कम्पास ग्रुपमा ५ लाख ९० हजार, अमेरिकी होम डिपोमा करिब ४ लाख ७२ हजार र युनाइटेड पार्सल सर्भिस (UPS) मा करिब ४ लाख ६० हजार कर्मचारी छन्।
यसैगरी फ्रान्सको टेलिपर्फर्मेन्समा करिब ४ लाख ४७ हजार, बर्मुडामा आधारित जार्डिन म्याथेसन होल्डिङ्समा ४ लाख ४३ हजार, सोडेक्सोमा करिब ४ लाख २६ हजार र फ्रान्सकै आईटी कम्पनी क्यापजेमिनीमा ४ लाख २३ हजार कर्मचारी रहेको तथ्यांकमा देखिन्छ।
बैंकिङ क्षेत्रका दुई ठूला रोजगारदाता
सूचीमा बैंकिङ क्षेत्रबाट चीनका एग्रिकल्चरल बैंक अफ चाइना र इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइना (ICBC) परेका छन्। एग्रिकल्चरल बैंक अफ चाइनामा करिब ४ लाख ५८ हजार र आईसीबीसीमा करिब ४ लाख १० हजार कर्मचारी छन्।
यसले विश्वका ठूला बैंकहरूले ठूलो वित्तीय कारोबारसँगै ठूलो रोजगारी संरचना पनि कायम राखेको देखाउँछ। विशेषगरी चीनका बैंकहरूमा शाखा सञ्जाल, ग्राहक सेवा र ठूलो सञ्चालन संरचनाका कारण कर्मचारी संख्या उच्च रहेको देखिन्छ।
२० कम्पनीमा विभिन्न क्षेत्रको प्रतिनिधित्व
शीर्ष २० कम्पनीलाई हेर्दा खुद्रा, ई–कमर्स, विद्युतीय सवारीसाधन, इलेक्ट्रोनिक्स उत्पादन, आईटी सेवा, लजिस्टिक्स, खाद्य तथा सुविधा सेवा र बैंकिङ क्षेत्रका कम्पनीहरू प्रमुख रूपमा देखिन्छन्।
सूचीमा अमेरिकी, चिनियाँ, युरोपेली तथा एसियाली कम्पनीहरूको मिश्रित उपस्थिति छ।
प्रतिक्रिया 0