नेपाल राष्ट्र बैंकमा जागिरको अवसर, कुन पदमा कति र के छ योग्यता?

शुक्रबार, २७ कार्तिक २०८३, दिउँसो १२:४२


खुला प्रतियोगितात्मक परीक्षामार्फत सहायकदेखि सहायक निर्देशकसम्मका पदमा आवेदन माग, मंसिर २४ गतेसम्म आवेदन दिन सकिने।

हाम्रो बैंकिङ । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६१ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। बैंकको केन्द्रीय कार्यालय, मानव संसाधन व्यवस्थापन विभागले खुला प्रतियोगितात्मक परीक्षामार्फत कर्मचारी पदपूर्ति गर्न सूचना प्रकाशित गरेको हो।

बैंकले प्रकाशित गरेको सूचनाअनुसार अधिकृत तृतीय श्रेणीअन्तर्गत सहायक निर्देशकका विभिन्न पद तथा सहायक द्वितीय श्रेणीअन्तर्गत सहायक पदमा कर्मचारी माग गरिएको छ।

माग गरिएका पदमध्ये प्रशासन सेवातर्फ सहायक निर्देशकका २६, लेखा तथा लेखापरीक्षणतर्फ सहायक निर्देशकका ३, वाणिज्य कानुनतर्फ सहायक निर्देशकका २ र सूचना प्रविधितर्फ सहायक निर्देशकका ५ पद रहेका छन्। त्यस्तै, सहायक द्वितीय श्रेणीअन्तर्गत प्रशासन सेवामा २६ जना कर्मचारी माग गरिएको छ।

यसरी बैंकले कुल ६२ पदमा कर्मचारी नियुक्तिका लागि आवेदन खुलाएको हो।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले २०८३ कात्तिक २७ गतेदेखि विद्युतीय माध्यमबाट आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति २०८३ मंसिर १७ गते तोकिएको छ। तोकिएको समयभित्र आवेदन दिन नसक्ने उम्मेदवारले दोब्बर दस्तुर तिरी मंसिर २४ गतेसम्म आवेदन दिन सक्नेछन्।

आवेदन फाराम भर्दा बैंकले तोकेको सम्पूर्ण विवरण उल्लेख गरी नेपाली नागरिकताको प्रमाणपत्र, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र, ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र तथा आवश्यक अन्य कागजात पेस गर्नुपर्नेछ। विदेशी शिक्षण संस्थाबाट शैक्षिक योग्यता हासिल गरेका उम्मेदवारले सम्बन्धित निकायबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्रसमेत पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।

त्यस्तै, सहायक निर्देशक पदका लागि लोक सेवा आयोगबाट एकीकृत परीक्षा प्रणालीअन्तर्गत सञ्चालित पूर्वयोग्यता परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र पनि आवेदनसँगै पेस गर्नुपर्नेछ।

बैंकले तोकिएको योग्यता तथा प्रक्रिया पूरा गरेका उम्मेदवारलाई प्रतिस्पर्धात्मक परीक्षामार्फत छनोट गर्ने जनाएको छ।


प्रतिक्रिया 0