गोपाल संग्रौला
काठमाडौं– लामो समयदेखि मध्यपूर्वका विभिन्न मुलुक र मलेसियामा केन्द्रित नेपालीको वैदेशिक रोजगारीको गन्तव्य युरोपतर्फ मोडिएको धेरै भएको छैन ।
पछिल्ला केही वर्षदेखि युरोपका आधा दर्जनभन्दा बढी मुलुकमा नेपालीहरु रोजगारीका लागि गएका छन् । त्यसमा पनि रोमानिया जानेको संख्या प्रत्येक वर्ष दोब्बरले बढेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको ९ महिनासम्ममा श्रमस्वीकृति लिएर रोमानिया जाने नेपालीको संख्या २५ हजार ४५७ जना पुगेको छ । यो अघिल्लो आर्थिक वर्षभरको भन्दा ११ हजार २३२ जनाले धेरै हो । गत वर्षभरमा रोमानियामा काम गर्न जानका लागि १४ हजार २ सय २५ जनाले श्रमस्वीकृति लिएका थिए । यो वर्ष ९ महिनामै ७८।९५ प्रतिशतले बढेको छ ।
विभागका अनुसार गत आर्थिक वर्षमा पनि रोमानिया जानेहरुको संख्या त्यसअघिको वर्षका तुलनामा झण्डै दोब्बर थियो । आव २०८०–०१ मा श्रमस्वीकृति लिएर ७ हजार ४ सय ७५ जना रोमानिया गएका थिए । यो तथ्यांकले पछिल्ला वर्षहरुमा रोमानिया जान नेपालीहरुको आकर्षण बढेको देखाएको छ । पछिल्लो समय रोमानियासँगै अन्य मुलुकहरु पोल्याण्ड, साइप्रस, माल्टा, क्रोएसिया, वेलायतलगायत जाने नेपालीको संख्या बढेको छ ।
मध्यपूर्वमा यूएई नै रोजाइमा
मध्यपूर्वका मुलुकहरुमध्ये विगतमा नेपाली जाने सबैभन्दा धेरै रोजाइको मुलुक कतार हुने गरेको थियो । फुटबल खेलको विश्वकप आयोजना गर्नुअघि कतारले धेरै स्टेडियम, अन्य पूर्वाधार र होटलहरु निर्माण गरेको थियो । यी संरचना निर्माणमा धेरै कामदार आवश्यक पर्दा कतार जाने नेपालीहरु बढेका थिए ।
पछिल्ला वर्षहरुमा मध्यपूर्वका मुलुकमध्ये सबैभन्दा धेरै विकास यूएईले गरेको छ । त्यही कारण कतारको रोजगारी यूएई सरेको हो । केही वर्षदेखि यूएई जाने नेपालीको संख्या बढदै गएको छ । मध्यपूर्वमा सबैभन्दा धेरै नेपाली यही मुलुकमा गइरहेका छन् । विभागका अनुसार चालु आवको ९ महिनामा यूएई जानेको संख्या एक लाख २२ हजार ५७० जना पुगेको छ । अन्य कुनै पनि मुलुकमा एक लाखको संख्यामा नेपाली गएको देखिँदैन ।
यूएईले धेरै ठूला पूर्वाधार निर्माण गरेको छ । चीनपछि संसारलाई नै आश्चर्यमा पार्ने गरी त्यहाँ धेरै आकर्षक पूर्वाधार बनेका छन् । यस्तै, सेवा क्षेत्रमा पनि यूएईले फड्को मारेको छ । यी दुवै क्षेत्रमा नेपाली कामदारले अवसर पाइरहेका छन् ।
अर्को भिजिट भिषामा यूएई गएकाले काम खोजेपछि वैधानिकीकरण श्रमस्वीकृति लिन सक्ने सुविधाले पनि नेपालीको आकर्षण यो मुलुकमा भएको हो । यस्तै, तुलनात्मक रुपमा साउदी र कतारभन्दा यूएईमा इनडोर काम बढी पाइने भएकाले पनि त्यहाँ जाने नेपालीको संख्या बढेको छ ।
यूएईपछि नेपाली जाने दोस्रो गन्तव्य भने यो वर्ष कतार रहेको छ । चालु आवको ९ महिनामा ९९ हजार ५५१ जना नेपाली कामदार कतार गएका छन् । गत वर्ष यूएईपछि धेरै नेपाली जाने मुलुक साउदी अरब बनेको थियो । यो वर्ष पनि साउदी अरब जानेको संख्या कतार जाने नजिक छ । अहिलेसम्म साउदी जान ९४ हजार ८२० जनाले श्रमस्वीकृति लिएका छन् । साउदी तेस्रो श्रम गन्तव्यमा झरेको छ । विभागका अनुसार मध्यपूर्वको अर्को मुलुक कुवेत जान ३४ हजार ९३० नेपालीले श्रमस्वीकृति पाएका छन् । यो पाँचौं स्थानमा परेको छ ।
मलेसियाको आकर्षण घट्दो
वैदेशिक रोजगारीमा कुनै बेला नेपालीका लागि सबैभन्दा आकर्षण मलेसिया थियो । मध्यपूर्वका मुलुकमा भन्दा मलेसियाको हावापानी राम्रो भएको र सुरक्षा, पारिश्रमिक एवं बाहिरी काम कम गर्नुपर्ने लगायतका कारण मलेसिया आकर्षक थियो । पछिल्ला केही वर्षदेखि भने मलेसिया रोजगारी विवादमा आइरहेको छ । मलेसियाको सरकारले नै विदेशी कामदारको कोटा कम गरेको र अन्य धेरै विषयमा कडाइ गरेपछि मलेसिया जाने घट्दै गएका हुन् । हुन त अझै पनि वैदेशिक रोजगारीका प्रमुख गन्तव्यमध्ये मलेसिया चौथो नम्बरमा परेको छ ।
विभागका अनुसार अघिल्लो वर्षका तुलनामा गत आर्थिक वर्षमा मलेसिया जानेको संख्या ३ गुणाले घटेको थियो । गत वर्षका तुलनामा चालु आवमा केही सुधार आएको छ । यो वर्ष मलेसिया जान ८२ हजार ९७ युवाले विभागबाट श्रमस्वीकृति लिएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष रोहन गुरुङ मलेसियाले विदेशी कामदार कम लिने रणनीति बनाएपछि मलेसियाको विकल्प मध्यपूर्व हुन थालेको बताए । केही वर्षअघिसम्म मलेसिया नेपालको प्रमुख श्रम गन्तव्य थियो ।
कारोवार दैनिकबाट
प्रतिक्रिया 0