काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ट्रेनी जुनियर असिस्टेन्ट (Trainee Junior Assistant) पदमा ७० जना कर्मचारी भर्नाका लागि आवेदन आह्वान गरेको छ। बैंकले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी सातै प्रदेशका शाखामा नियुक्तिका लागि आवेदन खुलाएको हो।
यस पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन/बिजनेस स्टडिज/बिजनेस एडमिनिस्ट्रेसन वा सो सरह विषयमा स्नातक तह कम्तीमा ५० प्रतिशत अंक वा CGPA २.५ प्राप्त गरेको हुनुपर्नेछ। साथै, उम्मेदवार कम्प्युटरमा दक्ष, नेपाली र अंग्रेजी भाषामा लेख्न तथा बोल्न सक्षम तथा नेपाली नागरिक हुनुपर्नेछ। आवेदन दिने अन्तिम मितिसम्म उमेर ३० वर्ष ननाघेको हुनुपर्ने बैंकले जनाएको छ। स्थानीय तथा छिमेकी जिल्लाका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
दुई पाङ्ग्रे सवारी चालक अनुमति पत्र (Driving License) भएका उम्मेदवारलाई अतिरिक्त प्राथमिकता दिइनेछ। छनोट भएका कर्मचारीलाई आवेदनमा उल्लेख गरेको प्रदेशमा खटाइने भए पनि बैंकको आवश्यकताअनुसार देशभरका शाखामा काम गर्न तयार हुनुपर्ने व्यवस्था गरिएको छ।
बैंकका अनुसार आवेदनको संख्या धेरै भए न्यूनतम मापदण्ड परिमार्जन गरी योग्य उम्मेदवारलाई मात्र सर्टलिस्ट गरिनेछ। बैंकको वेबसाइटबाहेक अन्य माध्यमबाट पठाइएका आवेदन स्वीकार गरिने छैनन्।
आवेदन दिने अन्तिम मिति: भदौ १८, २०८२ (३ सेप्टेम्बर २०२५) साँझ ५:०० बजेसम्म। इच्छुक उम्मेदवारले बैंकको आधिकारिक करियर पोर्टलमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया 0