काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६’ प्रतियोगिता आयोजना गर्ने भएको छ। बैंकले आगामी मंसिर १२ र १३ गते काठमाडौंको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा दुईदिने गल्फ प्रतियोगिता सञ्चालन गर्न लागेको हो।
प्रतियोगितामा होल इन वान गर्ने खेलाडीले आधुनिक स्कोडा एसयूभी गाडी जित्ने अवसर पाउनेछन्। त्यस्तै, विभिन्न विधाका विजेताहरूका लागि चन्द्रागिरि हिल्स र डिसहोमका विशेष प्याकेज पुरस्कारको व्यवस्था गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार प्रतियोगिताले खेलकुद, प्रकृति र आपसी सद्भावलाई एकै ठाउँमा जोड्ने विश्वास लिइएको छ। खेलकुद संस्कृतिको प्रवर्द्धन, आपसी सम्बन्ध विस्तार तथा विभिन्न क्षेत्रका खेलप्रेमी व्यक्तिहरूबीच अर्थपूर्ण सम्बन्ध स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।
प्रतियोगिता आयोजनाका लागि आइएमई रेमिट, डिसहोम, चन्द्रागिरि हिल्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, एमएडब्लू तथा बाराहसिंघेको सहकार्य रहेको छ।
ग्लोबल आइएमई बैंकले आधुनिक प्रविधिको प्रयोगमार्फत ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको छ। त्यस्तै, युरोमनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४ र २०२५ तथा बेस्ट बैंक ईएसजी नेपाल २०२४ लगायतका सम्मानसमेत प्राप्त गरेको छ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो। बैंकका अनुसार हाल देशभर ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र तथा ६९ एक्सटेन्सन र राजस्व सङ्कलन काउन्टर सञ्चालनमा छन्। यसका साथै बैंकले तीनवटा विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ।
बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स भित्र्याउँदै आएको छ।
No advertisements available
प्रतिक्रिया 0