एनएमबी बैंकले गर्‍यो ९ मेगावाट आयोजनाको वित्तीय समापन

खिम्ती–घ्वाङ खोला आयोजनामा एकल लगानी गर्ने

मंगलबार, १२ श्रावण २०८३, बेलुका ६:०२
Font Size: 20px

काठमाडौं। एनएमबी बैंक लिमिटेडले दोलखा र रामेछाप जिल्लामा निर्माण हुने ९ मेगावाट क्षमताको खिम्ती–घ्वाङ खोला साना जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन (Financial Closure) सफलतापूर्वक सम्पन्न गरेको छ।

बैंकका अनुसार उक्त आयोजना एनएमबी बैंकको एकल वित्तीय लगानीमा अघि बढ्नेछ। आयोजनाको वित्तीय समापनसँगै नेपालमा दिगो जलविद्युत् विकासलाई प्रवर्द्धन गर्ने तथा स्वच्छ ऊर्जा उत्पादनमार्फत देशको नेट–जिरो (Net-Zero) लक्ष्य हासिल गर्ने प्रयासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

एनएमबी बैंकले हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्स (Hydropower Sustainability Alliance–HSA) सँगको सहकार्यमा आयोजनाको प्रारम्भिक चरणमै HydroSelect Tool प्रयोग गरी वातावरणीय, सामाजिक तथा सुशासन (Environmental, Social and Governance–ESG) सम्बन्धी सम्भावित जोखिमहरूको पहिचान र मूल्याङ्कन गरेको जनाएको छ।

बैंकका अनुसार HydroSelect Tool को प्रयोगले परियोजनाको प्रारम्भिक निर्णय प्रक्रियालाई थप जिम्मेवार, पारदर्शी र दिगो बनाउन सहयोग पुर्‍याएको छ। यसले आयोजना अन्तर्राष्ट्रिय दिगोपनाका मापदण्डअनुसार अघि बढ्ने आधार पनि तयार गरेको बैंकको भनाइ छ।

एनएमबी बैंकले भविष्यमा पनि दिगो वित्त (Sustainable Finance), हरित ऊर्जा (Green Energy) तथा जिम्मेवार लगानीलाई प्राथमिकतामा राख्दै नेपालको दिगो आर्थिक विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता दोहोर्‍याएको छ।

प्रतिक्रिया 0