काठमाडौं । एनआईसी एशिया बैंकका ई–कमर्स भुक्तानी द्वारमा आबद्ध व्यवसायी ग्राहकले अब एप्पल पे र गुगल पे प्रयोगकर्ताबाट सहजै भुक्तानी प्राप्त गर्न सक्ने भएका छन्। बैंकले नेपालमै पहिलोपटक यस्तो सुविधा उपलब्ध गराएको जनाएको छ।
बैंकका अनुसार साइबरसोर्स भुक्तानी द्वारमा आबद्ध तथा आबद्ध हुन चाहने व्यावसायिक ग्राहकले विश्वभर रहेका एप्पल पे तथा गुगल पे प्रयोगकर्ताबाट आफ्नो ई–कमर्स प्लेटफर्ममार्फत सुरक्षित रूपमा भुक्तानी स्वीकार गर्न सक्नेछन्।
नयाँ सुविधाअन्तर्गत एप्पल पे तथा गुगल पेमा आबद्ध भिसा र मास्टरकार्ड प्रयोगकर्ताले नेपाली व्यवसायका अनलाइन प्लेटफर्मबाट वस्तु तथा सेवा खरिद गर्दा डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्नेछन्। यसले अन्तर्राष्ट्रिय ग्राहकबाट अनलाइन भुक्तानी स्वीकार गर्न नेपाली व्यवसायलाई थप सहज हुने बैंकको अपेक्षा छ।
एप्पल पे र गुगल पेमा कार्ड विवरण सुरक्षित रूपमा राख्न सकिने भएकाले अनलाइन कारोबारका क्रममा प्रत्येक पटक कार्डको विस्तृत विवरण प्रविष्ट गर्नुपर्ने आवश्यकता कम हुन्छ। यसले ग्राहकका लागि भुक्तानी प्रक्रिया सहज बनाउनुका साथै कारोबारलाई थप सुरक्षित बनाउन सहयोग गर्ने बैंकले जनाएको छ।
एनआईसी एशिया बैंकले नयाँ सुविधाले नेपालको ई–कमर्स तथा डिजिटल भुक्तानी प्रणालीलाई अन्तर्राष्ट्रिय भुक्तानी पूर्वाधारसँग थप जोड्ने जनाएको छ। विशेषगरी विदेशी ग्राहकलाई लक्षित गरी वस्तु तथा सेवा बिक्री गर्ने नेपाली व्यवसाय, अनलाइन सेवा प्रदायक तथा डिजिटल व्यापार सञ्चालन गर्ने व्यवसायीलाई यसबाट लाभ पुग्ने अपेक्षा गरिएको छ।
बैंकका अनुसार डिजिटल कारोबारको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै भुक्तानी प्रणालीलाई थप आधुनिक, सहज, सुरक्षित र अन्तर्राष्ट्रियस्तरमा पहुँचयोग्य बनाउने उद्देश्यले यो सुविधा ल्याइएको हो।
यससँगै एनआईसी एशियाको ई–कमर्स भुक्तानी द्वार प्रयोग गर्ने व्यवसायीले परम्परागत कार्ड भुक्तानीसँगै एप्पल पे र गुगल पे जस्ता डिजिटल भुक्तानी माध्यममार्फत पनि विश्वभरका ग्राहकबाट रकम प्राप्त गर्न सक्नेछन्।
No advertisements available
प्रतिक्रिया 0