१५ वटा बैंकको स्थिर, ५ बैंकले सामान्य घटाए
काठमाडौं । भदौ २०८३ का लागि वाणिज्य बैंकहरूले कायम गरेको अधिकतम ब्याजदरमा सामान्य गिरावट देखिएको छ। सार्वजनिक विवरणअनुसार व्यक्तिगततर्फ बैंकहरूको अधिकतम ब्याजदरको औसत ४.१३६ प्रतिशत कायम भएको छ। श्रावणमा यस्तो औसत ४.१६७५ प्रतिशत थियो।
त्यस्तै, संस्थागत निक्षेपतर्फ पनि औसत अधिकतम ब्याजदर घटेको छ। श्रावणमा ३.११६ प्रतिशत रहेको संस्थागततर्फको औसत दर भदौमा ३.०८१ प्रतिशतमा झरेको छ।
बैंकगत रूपमा हेर्दा अधिकांश वाणिज्य बैंकले श्रावणकै ब्याजदरलाई भदौमा पनि निरन्तरता दिएका छन्। तर केही बैंकले व्यक्तिगत वा संस्थागततर्फ ब्याजदर घटाएका छन्।
नेपाल बैंकले व्यक्तिगततर्फको अधिकतम ब्याजदर ४.२५ प्रतिशतबाट ४.१५ प्रतिशतमा झारेको छ भने संस्थागततर्फ ४ प्रतिशतबाट ३.५ प्रतिशतमा घटाएको छ। यसअनुसार संस्थागततर्फ ०.५ प्रतिशत अंकको कमी आएको छ।
सिटिजन्स बैंक इन्टरनेसनलले व्यक्तिगततर्फको दर ३.९५ प्रतिशतबाट ३.८५ प्रतिशतमा घटाएको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.८५ प्रतिशतबाट ३.८ प्रतिशत तथा कुमारी बैंकले ३.८५ प्रतिशतबाट ३.७६ प्रतिशतमा व्यक्तिगततर्फको अधिकतम ब्याजदर घटाएका छन्।
सिद्धार्थ बैंकमा भने व्यक्तिगततर्फ ४.०५ प्रतिशतबाट ३.७६ प्रतिशत तथा संस्थागततर्फ ३.२५ प्रतिशतबाट ३.०५ प्रतिशतमा ब्याजदर घटेको छ। व्यक्तिगततर्फ ०.२९ प्रतिशत अंकको कमी देखिएको छ।
यसैबीच, नबिल बैंक, प्रभु बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, एनएमबी बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, कृषि विकास बैंक, नेपाल एसबीआई बैंक, एभरेस्ट बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, एनआईसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकलगायतले श्रावणकै अधिकतम ब्याजदर भदौमा पनि कायम राखेका छन्।
समग्रमा हेर्दा भदौमा वाणिज्य बैंकहरूको अधिकतम ब्याजदरमा ठूलो परिवर्तन नभए पनि औसत दरमा सामान्य कमी आएको देखिन्छ।
प्रतिक्रिया 0