महालक्ष्मी विकास बैंकको नाफासँगै खराब कर्जा पनि बढ्यो

नाफामा ४८.४६ प्रतिशतको उछाल, निष्क्रिय कर्जा ६.३२ प्रतिशत

बुधबार, २० श्रावण २०८३, राति ११:३०
Font Size: 20px

काठमाडौं। महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ६२ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको तुलनामा ४८.४६ प्रतिशत बढी हो।

बैंकको सञ्चालन नाफा ५३.४१ प्रतिशतले वृद्धि भई ९३ करोड ७९ लाख रुपैयाँ पुगेको छ। त्यस्तै खुद ब्याज आम्दानी १०.६९ प्रतिशत र शुल्क तथा कमिसन आम्दानी ११.५८ प्रतिशतले बढेको छ। कुल सञ्चालन आम्दानी पनि ९.५४ प्रतिशतले वृद्धि भएको छ।

सम्भावित कर्जा नोक्सानीका लागि छुट्याइने इम्पेयरमेन्ट चार्ज ५१ करोड ७४ लाख रुपैयाँबाट घटेर ३१ करोड ५७ लाख रुपैयाँ मा सीमित भएको छ। यसले नाफा वृद्धिमा सहयोग पुर्‍याएको देखिन्छ।

बैंकको कर्जा लगानी ४.४१ प्रतिशतले बढेर ४३ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। तर ग्राहक निक्षेप ०.१९ प्रतिशतले घटेर ५५ अर्ब रुपैयाँ मा सीमित भएको छ।

बैंकको प्रतिशेयर आम्दानी (EPS) १३.९६ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १६५.४२ रुपैयाँ रहेको छ। पूँजी पर्याप्तता अनुपात (CAR) १७.५७ प्रतिशत रहेको छ, जुन नियामकीय न्यूनतम सीमाभन्दा निकै माथि हो।

यद्यपि बैंकको निष्क्रिय कर्जा (NPL) ४.९८ प्रतिशतबाट बढेर ६.३२ प्रतिशत पुगेको छ। खराब कर्जामा भएको यो वृद्धि बैंकका लागि आगामी दिनमा प्रमुख चुनौतीका रूपमा देखिएको छ। साथै कर्जा–निक्षेप अनुपात (CD Ratio) ८६.८२ प्रतिशत पुगेको छ, जसले उपलब्ध निक्षेपको ठूलो हिस्सा कर्जा प्रवाहमा प्रयोग भएको देखाउँछ।

समग्रमा महालक्ष्मी विकास बैंकले नाफा र सञ्चालन कार्यसम्पादनमा उल्लेखनीय सुधार गरे पनि खराब कर्जा नियन्त्रण तथा निक्षेप वृद्धिमा थप ध्यान दिनुपर्ने देखिन्छ।

प्रतिक्रिया 0