कामना सेवा बिकास बैंकको क्रेडिट रेटिङमा सुधार

शुक्रबार, १६ आश्विन २०८३, दिउँसो १:१७


काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको क्रेडिट रेटिङमा सुधार भएको छ। केयर रेटिङ्स नेपाल लिमिटेडले बैंकको जारीकर्ता रेटिङलाई अघिल्लो ‘केयर–एनपी बीबी प्लस’ बाट बढाएर ‘केयर–एनपी बीबीबी माइनस’ कायम गरेको हो। ‘बीबीबी माइनस’ले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम स्तरको सुरक्षा र मध्यम क्रेडिट जोखिम भएको संस्थालाई जनाउँछ।

रेटिङ सुधारमा बैंकको पुँजीकोष, कर्जाको गुणस्तर, नाफा, व्यवसाय विस्तार, निक्षेप संरचना र तरलता अवस्थामा आएको सुधारलाई आधार मानिएको छ। आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा बैंकको कुल निक्षेप ६६ अर्ब ७४ करोड ४० लाख रुपैयाँ पुगेको छ। चालु तथा बचत निक्षेपको अनुपात पनि अघिल्लो आर्थिक वर्षको ३६.४३ प्रतिशतबाट बढेर ५३.७९ प्रतिशत पुगेको रेटिङ विवरणमा उल्लेख छ ।

यद्यपि बैंकका लागि खराब कर्जा, बैंकिङ क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, कर्जा विस्तारसँग जोडिएका जोखिम तथा समष्टिगत आर्थिक र नियामकीय परिवर्तन चुनौतीका रूपमा रहेको रेटिङ कम्पनीले जनाएको छ। समग्रमा, रेटिङमा भएको स्तरोन्नतिले बैंकको वित्तीय क्षमता र दायित्व पूरा गर्ने क्षमताबारे बाह्य मूल्यांकनमा सुधार आएको संकेत गर्छ।

प्रतिक्रिया 0