भोटेकोशी बाढीपीडितका लागि सिद्धार्थ बैंकको २ करोड ५१ लाख सहयोग

आइतबार, १४ भदौ २०८३, राति ९:१०

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

बैंकले बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा क्षतिग्रस्त संरचनाको पुनःस्थापना र पुनर्निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ। बाढीका कारण प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेका बेला बैंकले पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको हो।

भोटेकोशी बाढीले रसुवा तथा आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याउनुका साथै सडक, पुल, जलविद्युत् आयोजना, व्यवसाय तथा अन्य भौतिक संरचनामा व्यापक क्षति गरेको छ। यस्तो विपद्को समयमा प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोगमा आफ्नो योगदान रहने सिद्धार्थ बैंकले जनाएको छ।

प्रतिक्रिया 0