काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य सेवा तथा बैंकिङ सुविधामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ। २०८३ मंसिर ९ गते दुवै संस्थाबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो।
सम्झौताअनुसार नेपाल मणिपाल शिक्षण अस्पतालले मुक्तिनाथ विकास बैंकका कर्मचारी तथा बैंकको एटीएम/डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई अस्पतालबाट उपलब्ध गराइने विभिन्न स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्नेछ।
अस्पतालले उपलब्ध गराउने विभिन्न सेवा तथा सुविधामा १० देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ।
त्यसैगरी, मुक्तिनाथ विकास बैंकले नेपाल मणिपाल शिक्षण अस्पतालमा कार्यरत कर्मचारी तथा उनीहरूका परिवारका सदस्यलाई न्यूनतम ब्याजदरमा व्यावसायिक कर्जा, घर कर्जा, सवारीसाधन कर्जा तथा अन्य सहुलियतपूर्ण बैंकिङ सुविधा उपलब्ध गराउनेछ।
यस सहकार्यबाट बैंकका ग्राहक तथा कर्मचारीले सहुलियतपूर्ण स्वास्थ्य सेवा प्राप्त गर्ने र अस्पतालका कर्मचारीले सहज बैंकिङ सुविधा पाउने अपेक्षा गरिएको छ।
स्वास्थ्य सेवा र वित्तीय सेवालाई एकैसाथ जोड्ने उद्देश्यले गरिएको यस सम्झौताले दुवै संस्थाबीचको संस्थागत सम्बन्ध थप सुदृढ बनाउनुका साथै ग्राहक सन्तुष्टि र पारस्परिक लाभ अभिवृद्धिमा योगदान पुर्याउने बैंकले विश्वास व्यक्त गरेको छ।
No advertisements available
प्रतिक्रिया 0