काठमाडौं । रसुवामा आएको भोटेकोशी नदीको बाढीले वाणिज्य बैंकका शाखा कार्यालयमा समेत ठूलो क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार जिल्लाका ९ वाणिज्य बैंकका शाखा प्रभावित वा पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने ८ बैंकका २६ कर्मचारी अझै सम्पर्कविहीन रहेको नेपाल बैंकर्स संघलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।
बाढीका कारण टिमुरे, स्याफ्रुबेँसी तथा भोटेकोशी–त्रिशूली करिडोर आसपास सञ्चालनमा रहेका बैंक शाखामा क्षति पुगेको हो। प्रभावित बैंकमा माछापुच्छ्रे, नबिल, सानिमा, लक्ष्मी सनराइज, हिमालयन, प्रभु, ग्लोबल आइएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी बैंक रहेका छन्।
बाढीपछि प्रभावित क्षेत्रमा विद्युत् तथा सञ्चार सेवा अवरुद्ध भएकाले बैंक कर्मचारीसँग तत्काल सम्पर्क स्थापित गर्न कठिनाइ भएको बताइएको छ।
पछिल्लो समय टेलिफोन तथा सञ्चार सेवा क्रमशः सुचारु हुन थालेसँगै केही कर्मचारी सम्पर्कमा आउन थालेका छन्। नबिल बैंकका कर्मचारीसँग भने सम्पर्क स्थापित भइसकेको प्रारम्भिक जानकारी सार्वजनिक भएको छ। बाँकी कर्मचारीको अवस्थाबारे थप विवरण उद्धार तथा सञ्चार सेवा सहज भएपछि स्पष्ट हुने अपेक्षा गरिएको छ।
बाढीबाट शाखा भवनसँगै बैंकका उपकरण, एटीएम, कागजात तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको हुन सक्ने देखिएको छ। यद्यपि क्षतिको पूर्ण विवरण भने संकलन हुन बाँकी छ।
प्रतिक्रिया 0