नेपालगञ्ज । नेपाल राष्ट्र बैंकद्वारा समस्याग्रस्त घोषणा गरिएको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको व्यवस्थापन समूहले बैंकको सुधार प्रक्रियामा बाधा पुर्याउने अवाञ्छित गतिविधिप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
व्यवस्थापन समूहका अनुसार नेपाल राष्ट्र बैंकको निर्णयअनुसार बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरी व्यवस्थापन नियन्त्रणमा लिएपछि संस्थाको सुधार, कर्जा असुली तथा निक्षेपकर्ताको हित संरक्षणका लागि निरन्तर काम भइरहेको छ।
समूहले निक्षेप अपचलनमा संलग्न व्यक्तिहरू विरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ। साथै, कर्जा असुलीबाट प्राप्त रकमको आधारमा हालसम्म करिब रु. ४७ करोड ९४ लाख निक्षेपकर्तालाई फिर्ता भुक्तानी भइसकेको र सो प्रक्रिया निरन्तर जारी रहेको उल्लेख गरिएको छ।
व्यवस्थापन समूहका अनुसार बैंकको सुधार प्रक्रियामा केही अवाञ्छित गतिविधिहरू भइरहेको देखिएको भन्दै यसले संस्थाको पुनर्संरचना र सुधार कार्यमा अवरोध पुर्याउन सक्ने चिन्ता व्यक्त गरिएको छ।
समूहले बैंकको सुधार, निक्षेप सुरक्षा र वित्तीय स्थायित्वका लागि काम गरिरहेको उल्लेख गर्दै यस्ता गतिविधि नगर्न/नगराउन आग्रह गरेको छ। साथै, निक्षेपकर्ता, शेयरधनी तथा अन्य सरोकारवालालाई सुधार प्रक्रियामा सकारात्मक सहयोग गर्न अपिल गरिएको छ।
बैंकले समस्याग्रस्त अवस्थाबाट बाहिर निस्कन कर्जा असुली, कानुनी प्रक्रिया र व्यवस्थापन सुधारलाई तीव्रता दिँदै आएको पनि जनाएको छ।
प्रतिक्रिया 0