सिटिजन्स बैंकको नाफा बढे पनि व्यवसायिक ग्रोथ सुस्त

नाफा २ अर्ब नाघ्यो, प्रतिशेयर आम्दानी १३.५३ र वितरणयोग्य प्रतिशेयर आम्दानी ३.३७ रुपैयाँ

शुक्रबार, २९ श्रावण २०८३, बिहान ९:५३
Font Size: 20px

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको नाफामा उल्लेख्य वृद्धि भए पनि बैंकको मुख्य व्यवसाय अर्थात् कर्जा विस्तार भने सुस्त देखिएको छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म बैंकको खुद नाफा ६३.०५ प्रतिशतले बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ। तर नाफा वृद्धिको पछाडि कर्जा व्यवसायको तीव्र विस्तारभन्दा impairment charge मा आएको ठूलो कमी प्रमुख कारण देखिएको छ।

बैंकको ग्राहक निक्षेप ९.५७ प्रतिशतले बढेर २ खर्ब ३१ अर्ब ७३ करोड रुपैयाँ पुगे पनि कर्जा तथा सापटी भने केवल ०.७६ प्रतिशतले बढेर १ खर्ब ७० अर्ब १४ करोड रुपैयाँ पुगेको छ। अर्थात् बैंकले निक्षेप संकलनमा गरेको वृद्धिको तुलनामा कर्जा विस्तार निकै कमजोर रहेको छ।

यस अवधिमा बैंकको impairment charge २ अर्ब ६८ करोड रुपैयाँबाट घटेर ८२ करोड ९४ लाख रुपैयाँमा झरेको छ। करिब १ अर्ब ८५ करोड रुपैयाँले impairment charge घट्दा बैंकको सञ्चालन नाफा ८१.२६ प्रतिशतले बढेर ३ अर्ब ६० करोड १५ लाख रुपैयाँ पुगेको छ। यही सुधारले खुद नाफा वृद्धिमा महत्वपूर्ण योगदान गरेको देखिन्छ।

तर बैंकको खुद ब्याज आम्दानी भने १.९० प्रतिशतले घटेर ६ अर्ब २९ करोड ३७ लाख रुपैयाँ मा सीमित भएको छ। खुद शुल्क तथा कमिसन आम्दानी ६.३३ प्रतिशतले बढे पनि कुल सञ्चालन आम्दानी २.१३ प्रतिशतले मात्रै बढेर ८ अर्ब ३४ करोड ९२ लाख रुपैयाँ पुगेको छ।

अर्कोतर्फ, बैंकको NPL ४.८९ प्रतिशतबाट बढेर ५.८८ प्रतिशत पुगेको छ। कर्जा–निक्षेप अनुपात पनि ८१.९१ प्रतिशतबाट घटेर ७५.७२ प्रतिशतमा आएको छ। यसले बैंकसँग निक्षेपका रूपमा स्रोत बढे पनि त्यसलाई कर्जामा रूपान्तरण गर्ने गति कमजोर रहेको देखाउँछ।

बैंकको EPS भने ८.७१ रुपैयाँबाट बढेर १३.५३ रुपैयाँ पुगेको छ भने नेटवर्थ प्रतिशेयर १५५.४२ रुपैयाँबाट बढेर १६०.५१ रुपैयाँ पुगेको छ। आधार दर ६.२५ प्रतिशतबाट घटेर ५.०४ प्रतिशतमा आएको छ।

प्रतिक्रिया 0