काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किङ्स र एभरेस्ट बैंक लिमिटेडबीचको सहकार्य निरन्तर हुने भएको छ। एभरेस्ट बैंकले विराटनगर किङ्ससँगको साझेदारीलाई आगामी एनपीएल सिजन–३ मा पनि निरन्तरता दिएको हो।
विगतदेखि नै विराटनगर किङ्ससँग सहकार्य गर्दै आएको एभरेस्ट बैंक आगामी सिजनमा पनि टोलीको ‘अफिसियल पावर्ड बाइ स्पोन्सर’का रूपमा जोडिएको छ। बैंक र विराटनगर किङ्सबीचको सहकार्यसम्बन्धी सम्झौता विराटनगरमा आयोजित एक कार्यक्रमबीच सम्पन्न भएको हो।
लगातार तीन वर्षसम्म एउटै टोलीसँगको साझेदारीले एभरेस्ट बैंक र विराटनगर किङ्सबीचको सम्बन्धलाई थप मजबुत बनाएको देखिन्छ। विराटनगर किङ्सले सामाजिक सञ्जालमार्फत पनि एभरेस्ट बैंकसँगको सहकार्य अर्को सिजनका लागि निरन्तर रहेको जानकारी दिँदै तीन वर्षको साझेदारीलाई अझ बलियो भएको जनाएको छ।
विराटनगर किङ्सका अनुसार नेपाली क्रिकेटको विकास, युवा प्रतिभाको प्रोत्साहन तथा खेलकुदलाई व्यावसायिक रूपमा अघि बढाउन निजी क्षेत्रको सहकार्य महत्वपूर्ण छ। एभरेस्ट बैंकले निरन्तर विश्वास, सहयोग र सहकार्य गरेकोमा टोलीले आभार व्यक्त गरेको छ।
एनपीएलमा निजी क्षेत्रको सहभागिता पछिल्ला वर्षमा बढ्दै गएको छ। विराटनगर किङ्सले यसअघि पनि एभरेस्ट बैंकसहित विभिन्न व्यावसायिक संस्थाबाट प्रायोजन तथा साझेदारी पाउँदै आएको थियो। सन् २०२४ मा सुरु भएको एनपीएलमा विराटनगर किङ्स कोशी प्रदेशको प्रतिनिधित्व गर्ने फ्रेन्चाइज टोलीका रूपमा सहभागी हुँदै आएको छ।
एभरेस्ट बैंकले पनि खेलकुद क्षेत्रसँगको सहकार्यलाई निरन्तरता दिँदै आएको छ। विराटनगर किङ्स र एभरेस्ट बैंकबीचको निरन्तर साझेदारीले नेपाली क्रिकेटमा कर्पोरेट क्षेत्रको सहभागिता थप बलियो बनाउने अपेक्षा गरिएको छ। साथै, एनपीएलको ब्रान्ड विस्तार र टोलीको व्यावसायिक गतिविधिमा यस्ता दीर्घकालीन साझेदारीले थप सहयोग पुग्ने देखिन्छ।
No advertisements available
प्रतिक्रिया 0